बरु सन्तान नजन्माएकै राम्रो

ज्येष्ठ नागरिक पनि सम्मान–योग्य हुनुपर्यो नि !
उमेर पुगिसकेका छोराछोरी र बुहारीको अगाडि माथिको कपडा खोलेर नांगै छाती देखाई बस्ने, नुहाउने वा अरुबेला पनि तौलिया बेरेर वा अण्डरवेयरमात्रै लगाएर बस्ने बाबुसँग छोराहरूको मन नदुख्ला ? ज्वाइँचेलाको अगाडि पेटीकोटमात्र भिरेर ओहोरदोहार गर्ने आमाहरूप्रति छोरीहरूको कुन सम्मान रहला ? बाहिर खुलेर भन्न नसके पनि धेरै छोराछोरी आमाबाबुको यस्तो हर्कतबाट भित्रभित्रै मर्माहत छन् । बुबाको कमाइ र व्यवसायबाट चल्नुपरेको घरमा त झन् छोराहरू निरीह रूपमा पीडा सहरै बस्नुपर्ने बाध्यता हुन सक्छ ।
भनौं, कसरी भनौं, कसलाई भनौं ! घरमा आमाबाबुको झगडा अनि मारमुङ्ग्री भइरहने, छोराछोरीमाथि दुव्र्यवहार, दुर्वचन, अभद्र–अशिष्ट व्यवहार गर्ने, अपशब्द अनि आमाचकारी बोल्ने, बालबालिकालाई गाली नगरी, नकुटी खान नदिने, स–सानो निहुँमा कुट्दै लखेट्ने यस्तो हैरानी खेप्दै हुर्किएका सन्तानमा कस्तो छाप रहला ? यस्तो विचलनको अवस्थाबाट गुज्रिनुपरेका सन्तानबाट ज्येष्ठ नागरिकले कस्तो स्याहारको अपेक्षा गर्ने ?
घरमा चरम झैझगडा, अपशब्द र कुटपिटको स्थितिबाट गुज्रेका बच्चा अनि शिष्ट, भद्र, मर्यादित, सुसभ्य र राम्रो असल चालचलनको पारिवारिक परिवेशमा हुर्केका सन्तानबीच कसरी तुलना हुन सक्ला ? हिंसात्मक दुव्र्यवहारको अवस्थितिमा हुर्केका अधिकांश बालबालिकाको जीवन दुव्र्यसन र विकृति–विसंगति एवम् बर्बादीतर्फ नै धकेलिएको हामी पाउँछौं ।
ती कसरी सम्मानयोग्य हुन सक्छन् ? हुर्केका छोराछोरी, भाइबन्धु, बुहारी, ज्वाइँ चेलाको अगाडि खाने बेलामा पनि ख्याक्कखुक्क गर्न नछोड्ने, सिँसिँफिफि गरिरहने, घरमा छोराबुहारी सबै सुत्ने बेला घ्वार्रघुर्र ङ्यार्रङुर्र गरिरहने मान्छेलाई के भन्ने ? अबुझ कि बुझ पचाएका ? जेहोस् अरु खाइरहेको बेला थुक्नु, खकार्नु, सिँगान फाल्नु ठूलाको सभ्य व्यवहार होइन, निदाइसकेपछि घुर्नु अलग कुरा होला तर ओछ्याउनमा जान पाएको छैन, सुत्ने बेला अरुलाई डिस्टर्ब गरी घुर्ने बानी राम्रो हुँदै होइन ।
वृद्धावस्थामा खानलाउन पाएर मात्रै पर्याप्त हुँदैन । उमेरको हिसाबले, संघर्ष र भोगाइको हिसाबले पनि बुढ्यौलीमा सम्मानित जीवनको चाहना हुन्छ । त्योबेला आदर–सम्मान, प्रेम, सद्भाव, सुरक्षा, संरक्षण, ओखतीमूलो, हेरचाह र आत्मीयताको ठूलो आवश्यकता रहन्छ ।
सम्मान पाउने हक त्यसैलाई हुन्छ, जसले अरु र आफ्नालाई पनि सम्मान गर्न जानेको हुन्छ । आफूले बेलामा तथानाम गरेका ज्येष्ठ नागरिकले पछि सम्मान भएन, बूढेसकालमा छोराछोरी र बुहारीहरूले हेलाँ गरे भनेर के हुन्छ ? सबै आमाबाबु त यस्ता गलत छैनन् तर कैयौं आमाबाबु यस्ता छन्, जसले जानीनजानी सानोमा होस् या ठूलोमा पनि सन्तानलाई पीडा दिइआएका छन् ।
समग्र ज्येष्ठ नागरिकको कुरा गर्दा कतिपय वृद्धवृद्धा विगत र वर्तमानका आफ्नै व्यवहारले पनि परिवारमा हेँलाहोचोको अवस्थामा छन् भन्दा गलत हुँदैन । आफ्नै जिद्दी गरेर छोराछोरी, बुहारी अनि ज्वाइँचेलाको मन दुखाउने आमाबाबुमाथि पछि ती सन्तानबाट पनि मन दुख्ने व्यवहार स्वभावतः हुन सक्छ । कतिपय मान्छे उमेर ढल्कँदै जाँदा पारिवारिक तनावको कारण आत्महत्याको स्थितिमासमेत पुगेका छन् ।
कतिपय कुरामा बाउआमा आफू गलत नै नभए पनि छोराछोरीलाई पीडा हुन्छ भने सन्तानको भावना बुझेर स्वभाव बदल्नुपर्ने होइन ? बानी भन्दै त्यही गर्छन् त असल मातापिताले ? ‘गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए निहुँ’ भन्ने त कहावत् नै छ ।
छोराछोरीलाई बुढेसकालको लाठी भनिन्छ । त्यही लाठीलाई जवानीमा चाहिँदैनझैं गरी ठटाउने, लडाउने गरिन्छ भने टुटेको वा भित्रभित्रै कमजोर भएको लठ्ठीले कसरी मजबुत सहारा देओस् ? खोलो तरिसकेपछि लौरो बिस्र्याे भनेर विलाप गर्नुको अर्थ के ? कि त सन्तान जन्माउनै भएन । जन्माएपछि लालन–पालनमात्र होइन, असल संस्कार पनि दिन आवश्यक छ ।
जन्माएको, पालनपोषण गरेको, पढाएको, लेखाएको, लगानी गरेको भन्दैमा मनपरी व्यवहार गर्न भएन । पाएपछि पाल्नैप¥यो । सन्तानले मलाई जन्माऊ त भनेको थिएन ।
छोराछोरीलाई खान–लाउन दिएर, स्कूल पढाइदिएर सम्पूर्ण जिम्मेवारी पूरा भएको ठान्ने अभिभावक धेरै छन् । कतिपय आमाबाबु ज्याद्रो घमण्डी, हठी अनि अहंकारी छन् । उनीहरू सदा आफ्नै लिंडेढिपी लाद्न खोज्छन् भने छोराछोरीले चाहिँ सबै सहन गर्नैपर्छ भन्ने हुन्छ र ?
छोराछोरी पाउनासाथ बच्चामै छोडेर पोइल जाने आमालाई जन्मदाता भनेर सन्तानले भोलि स्याहार्न जरुरी छ र ? बैंस छँदा सयवटा पोइ, बूढेसकालमा कोही न कोही भन्ने त उक्ति नै छ ।
छोराछोरी कुर्ने ज्वाइँचेला र बुहारीकै अगाडि श्रीमतीलाई समेत राँडी रण्डी भन्दै पिताले भकुर्ने गर्दा सामुन्नेको व्यक्तिमा कस्तो भावना बन्ला ? नराम्रो याद हमेशा बिझ्छ, बिझेको मनले राम्रो स्वागत सत्कार गर्न सक्दैन । बुहारी (अर्काकी छोरी)लाई तँ–तँ म, म भन्दै कुट्नजाने ससुराससुरालाई उसलेचाहिँ किन माया र सम्मान गरोस् ?
टिप्पणीहरू