‘भगवान भरोसा’ मा अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान तनावमा युद्ध विरामको सहमति भएको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सबैलाई बधाई भन्दै युद्ध विरामको सहमति भइसकेको दाबी गर्नुभएको छ ।
लेखिएको छ, ‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भइसकेको छ, १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ ।’ उहाँका अनुसार १२औं घण्टामा इजरायलले युद्ध विराम सुरु गर्नेछ । त्यसपछि २४औं घण्टामा १२ दिने युद्धको अन्त्यलाई विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ ।
राष्ट्रपति ट्रम्पको दाबी छ, ‘यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिएर पूरै मध्यपूर्वलाई तहस–नहस पार्न सक्थ्यो । तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन ! ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस् ।’
गएराति इरानले कतारको दोहा नजिकै रहेको अमेरिकी एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । रातको समयमा भएको आक्रमणपछि इजरायल र इरानबीचको द्वन्द्वको ज्वाला मध्यपूर्वका अन्य राष्ट्रमा समेत फैलनसक्ने आशंका बढेको बेलामा अमेरिकी राष्ट्रपतिको उक्त दाबी बाहिरिएको छ ।
तर रातिको आक्रमणपछि विश्वका शक्ति राष्ट्रहरूबीचको ध्रुवीकरणलाई थप बढाएको छ । अमेरिकाले स्पष्ट रुपमा इजरायलको पक्षमा रहेको बताउँदै इरानमाथि आक्रमण गरेकाले इरानले पनि दोहा नजिकैको अमेरिकी एअर बेसलाई लक्षित गरेको हो ।
तर इरानले पूर्वसूचना दिएर कतारमा आक्रमण गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार आक्रमणअघि नै कतारले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको थियो । आक्रमणमा कुनै मानवीय क्षति भएको छैन ।
कतारको अल–उदीद एयरबेस मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा हो । झण्डै १० हजार अमेरिकी सैनिक तैनाथ एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्ड अन्तर्गत सञ्चालन हुन्छ ।
दोहामा भएको आक्रमणपछि त्यसतर्फका अधिकांश मुलुकका हवाई उडान प्रभावित भएको छ । राति काठमाडौंबाट दोहा जान लागेको नेपाल वायुसेवाको उडान रोकिँदा यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बस्न बाध्य भएका हुन् ।
त्यसअघि साँझ ६ बजे उडेको कतार एअरवेजको विमान पनि ओमानको राजधानी मस्कट डाइभर्ट भएको छ । दोहालगायत मध्यपूर्वका विभिन्न गन्तव्यतर्फ उडेका र त्यहाँबाट विश्वका विभिन्न मुलुकतर्फ जान लागेका सयौं उडान कुनै रोकिएका छन् भने कतिपय डाइभर्ट भएका छन् ।
टिप्पणीहरू