सामाजिक सञ्जाल रंगाउने मेयरहरुको पालिकामा बिजोग
स्थानीय तहले हरेक वर्ष असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भनिएको छ,‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्नेछ ।’
सो व्यवस्थाबमोजिम हिजो अधिकांश स्थानीय पालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गरेका छन् । तर, दुई दर्जन नगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन् । नेपाल नगरपालिका संघका अनुसार सप्तरी र धनुषाका सबैभन्दा बढी पालिका निर्धारित समयमा बजेट ल्याउन असक्षम भएका हुन् ।
रोचक प्रसंग के भने, स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेको र सँधै चर्चामा रहने दुई पालिका यसपटक समयमा बजेट ल्याउन असफल भएका छन् । काठमाडौं महानगरपालिका र सुनसरीको धरान उप–महानगरपालिकाले तोकिएको समयमा बजेट सार्वजनिक गर्न सकेका छैनन् । आन्तरिक कलहका कारण दुई पालिका बजेटमा पछाडि परेका हुन् । काठमाडौंका मेयर बालेन्द्र (बालेन) साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीच तीब्र मतान्तर छ ।
अनियमितताको आरोप लगाउँदै बालेनले कारबाही गरेका गुरागाईँलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः महानगरमै फिर्ता पठाएपछि विवाद झन् चुलिएको हो । मेयर र महानगर प्रहरी बलको अवैधानिक प्रमुख एसएसपी राजुनाथ पाण्डेले उनलाई रोक्न धेरै कोसिश गरेका थिए । तर उनलाई अधिकांश वडाध्यक्ष र कर्मचारीहरुको प्रयासमा कार्यालयमा ‘ईन्ट्री’ गराइयो । आफ्नो निर्देशनका बाबजूद उनलाई कार्यालय प्रवेश गराएको ‘ईगो’ साँधेर बसेका बालेनले लामो समयदेखि कार्यपालिका बैठक डाकेका छैनन् ।
बालेनविरुद्ध चार करोड घोटालाको अर्को उजुरी
कार्यपालिका बैठक बोलाउनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको मागलाई उनले बेवास्ता गरेका हुन् । उता, उपमेयर सुनिता डंगोल पनि बालेनदेखि रुष्ट देखिन्छिन् । उनी बालेनविरुद्ध पछिल्लो समय खुलेरै विरोधमा उत्रिएकी छन् । लामो विवाद र अप्रत्यक्ष आरोप–प्रत्यारोपपछि गत जेठमा दुईबीच कुराकानी भएको थियो । बैठकमा कार्यपालिका बैठक, नगरसभा, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका विषयमा छलफल भएपछि बजेट समयमै आउने अपेक्षा गरिएको थियो ।
गत असार ४ गते बालेनले बजेटबारे छलफल गर्न ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक बोलाए । तर, समिति सदस्य सचिव एवम् प्रशासकीय अधिकृत गुरागाईँलाई नै बैठकबारे खबर नगरेपछि सदस्यहरुले आपत्ति जनाए । यसकारण बैठक स्थगित गर्नुपर्यो । बैठक नै नबसेकाले महानगरले बजेट ल्याउन नसकेको हो । महानगरमा तत्काल बजेट आउने कुनै अवस्था देखिँदैन ।
उता, फेसबुकमा ठूलाठूला गफ दिने धरानका मेयर हर्कराज साम्पाङ्गको पारा पनि बालेनको जस्तै देखिएको छ । मेयर साम्पाङ र उपमेयर अईन्द्रविक्रम बेघाबीच चर्को विवाद छ । डोर हाजिरीको विषयलाई लिएर दुईबीच कार्यालयमै भनाभन भएको थियो । हात हालाहालपछि प्रहरी नै परिचालन गर्नुपर्ने परिस्थिति सिर्जना भयो । बजेट नआउनुमा हाल दुवैले एकअर्कालाई आरोप लगाउँदै आएका छन् भने कर्मचारी पेलिएका छन् । बजेट बनाउनुपर्ने मेयर र उपमेयर एकअर्काबीच बोलचाल बन्द छ ।
मुलुककै ठूलो महानगरले बजेट ल्याउन नसकेको विषयमा यतिबेला चर्को विरोध भइरहेको छ । व्यक्तिगत सनकका कारण बजेट नल्याएको धेरैको आरोप छ । क्षेत्रप्रताप अधिकारीले सामाजिक सञ्जालमा कुण्ठा पोखेजस्तो प्रमुखको भूमिका निर्वाह गर्न सजिलो नभएको बताएका छन् ।
हर्क साम्पाङ्ग नक्कली हस्ताक्षरमा कसरी चुके ?
‘सामाजिक सञ्जालको बाढीले ल्याएको घमण्डी, सनकी र नकारात्मक मानसिकताले देवत्तोकरण गरिएको एक असक्षम पात्रका कारण बजेट आएन । बजेट आएका अघिल्ला आर्थिक वर्षहरुमा पनि काठमाडौं महानगरको बजेट कार्यान्वयन र कार्यसम्पादन अति दुर्गम गाउँपालिकाको भन्दापनि पछाडि छ’,उनले लेखेका छन्,‘बजेट निर्माणजस्तो संवेदनशील नीतिगत कार्यक्रमको समयमा बिना कारण कार्यपालिकाको बैठक नराख्नु, महानगर सभा आह्वान नगर्नु, कार्यालयमा नबस्नु, समस्या श्रृजना गरेर समाधानमा नलागि भाग्नुजस्तो गैरजिम्मेवारी जनताप्रतिको चरम बेइमानी हो । नशाको तालमा मध्यरातमा सामाजिक सञ्जालमा बेहोसी कुण्ठा पोखेजस्तो कहाँ हुन्छ, सरकार प्रमुख बन्न र सरकार चलाउन ।’
एलएक्स नोभाले बालेनलाई भाग्यले बनाएको असफल लिडर भनेकी छन् । ‘आवेग, घमण्डी, जिद्दी, कूटनीति तथा राजनीतिक ज्ञानको ज्ञ पनि नभएको भाग्यले बनाइदिएको असफल लिडर ।’ भेषराज चन्दले बालेन र हर्कलाई घमण्डी मेयरको संज्ञा दिएका छन् । लेख्छन्,‘बालेनको बाल हट, समन्वय क्षमताको कमी, वार्ता संवादबाट समस्याको हल हुने आम सिद्धान्तको अनदेखा, राज्यको विधि, कानुनको शासन नमानेर सबैलाई भ्रष्टाचारी करार गर्दै हिँड्ने बालेन प्रवृत्ति, यस्तै गरी त्यो हर्कका झन् केही कामै छैन् कति घमण्डी हुन सकेको छ्या छ्या ।’
अरु दोषी, आफू निर्दोष
कुनै व्यक्तिलाई दोषी करार गर्ने अधिकार मेयरसँग छैन । दोषी र निर्दोष ठहर गर्ने जिम्मा न्यायालयको हो । यदि कुनै व्यक्ति दोषी छ भने उसलाई अदालतले सजाय सुनाउँछ । तर, मेयर बालेनले आफूलाई न्यायाधीश ठानेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचारी भएको र गुरागाईँ नहटेसम्म कार्यपालिकाको बैठक नै नडाक्ने अडान कसेका छन् । यसकारण महानगरमा गतिरोध सिर्जना भएको छ । महानगरको प्रमुख व्यक्ति एउटा कर्मचारीको पछाडि लाग्दा महानगरबासीले अनाहकमा दुःख पाउने देखिएको छ ।
२२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन मेयरले कसैलाई भ्रष्ट भन्न नमिल्ने बताउँछन् । न्यायालयको काम न्यायालयले नै गर्दा राम्रो हुने उनको जिकिर छ । जनआस्थासँग उनले भने,‘मेयरले कसैलाई भ्रष्ट, तस्कर भन्न मिल्दैन । त्यो काम न्यायालयको हो । मेयर कार्यकारी भएको एउटापनि बैठकमा नबस्ने भनि जिद्दी गरेर बस्नुभएको छ । त्यसरी महानगर चल्छ ? उहाँले त सबैलाई मिलाएर अगाडि लैजानुपथ्र्यों ।’
बालेन आफैं गर्छन् यस्तो बदमासी
अरुलाई दोषी बनाउँदै हिँडेका बालेनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरी परेको छ । उनलाई अख्तियारले बयानका लागि बोलाएको छ ।
बजेट नआएपछि आकस्मिक बैठक
बजेट ल्याउन नसकिएपछि काठमाडौंका उपमेयर डंगोल संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको आकस्मिक बैठक बसेको छ । बजेट पारित नभएमा साउन १ गतेदेखि विकास निर्माण, कर्मचारीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, फोहोरमैला संकलन तथा विसर्जनमा समस्यालगायत महानगरका सबै कामकाज ठप्प हुने भएपछि बसेको बैठकले मेयरको ध्यानाकर्षण गराउने भएको छ ।
आफूहरुले ‘कम्प्रोमाइज’ गरेर भएपनि बजेट ल्याउने वडाध्यक्ष महर्जन बताउँछन् । भन्छन्,‘मेयरले इगो नै साँध्नुभो जस्तो छ । त्यसैले अब हामी नै कम्प्रोमाइज गरेर अघि बढ्छौं । महानगरबासीलाई दुःख दिने कुरा पनि भएन ।’
यता, धरानका उपमेयर बेघाले आगामी बजेटको टुंगो नभएको बताए । आफू नेतृत्वको राजश्व परामर्श समितिले बजेटको स्रोत अनुमान गरेर स्रोत निर्धारण समितिमा बुझाएको उल्लेख गर्दै उनले मेयरका कारण तोकिएको समयसीमाभित्र बजेट आउन नसकेको आरोप लगाए ।
‘राजश्व परामर्श समितिले १ अर्ब ६० करोडको प्रस्ताव गरेको थियो । मबाट हुनुपर्ने काम गरेकै हुँ तर मेयर साबले बजेट निर्धारण समितिको बैठक राख्नुभएन । त्यसैले बजेट आएन । अब कहिले आउँछ ? भन्न सकिन्न’,उनले भने ।
टिप्पणीहरू