वैद्य निवास पुगे वर्षमान

वैद्य निवास पुगे वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य 'किरण' लाई भेटेका छन् । 

दमको समस्याले थलिएर लामो समय अस्पताल भर्ना भई अहिले स्वास्थ्य लाभ गरिरहेका वैद्यलाई उनले आज दिउँसो निवासमै पुगेर भेटेका हुन् । माओवादी अध्यक्ष प्रचण्डका समेत राजनीतिक गुरु मानिने वैद्यलाई भेट्न पुन पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीलाई लिएर गएका थिए ।

भेटपछि खुसी व्यक्त गर्दै पुनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाली कम्युनिष्ट आन्दोलनका आर्दश, भौतिकवादी दर्शनका गुरु, आदरणीय मोहन बैद्य ‘किरण’को स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको छ । व्यस्तताले अस्पताल पुग्न सकेको थिईन । उहाँको स्वस्थ तथा दीर्घ जीवनको हार्दिक शुभकामना ।'

७९ वर्षीय वैद्य लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित छन् । यसबीच रोगले थप च्यापेपछि उनलाई जेठ १५ गते महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । लामो समय आइसीयुमा राखेर उपचार गरेपछि असार २ गते डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन् ।

टिप्पणीहरू