केपी ओलीमाथिको हमलाविरुद्ध प्रतिवाद गर्न आह्वान
फाइल फाेटाे
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि हमला बढेको भन्दै कार्यकर्तालाई प्रतिवादमा उत्रन आह्वान गरेका छन् ।
पार्टीको काठमाडौं जिल्ला कमिटी बैठकलाई आज टोखामा सम्बोधन गर्दै उनले राम्रो काम गरेका कारण ओलीविरुद्ध हमला भैरहेको जिकिर गरे । आज ओलीलाई आक्रमण गर्नेले भोलि कसैलाई बाँकी नराख्ने शंकरको ठहर छ ।
एमाले र ओलीलाई अहिले मुख्यत: चार वटा शक्तिले साइवर हमला गरिरहेको उनले सुनाए । त्यसमा राजावादी, माओवादी-एकीकृत समाजवादी, रास्वपा र विदेशी शक्तिहरूले पर्ने बताए ।
‘एमालेलाई मुख्यगरी अहिले चार वटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्य गरी उनीहरु सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन्’, शंकरले भने, ‘राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति । एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरु हामी माथि खनिएका हुन् ।’
एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको उनले बुझाइ छ । माओवादी र अरु कम्युनिष्ट पार्टीले चै एमालेलाई कमजोर नपारेसम्म आफूहरू अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेर खेदो खनेको उनले बताए ।
पपुलिजमका नाममा जनता अलमल्याएर रास्वपा र काठमाडौँका मेयर बालेन साहले एमालेमाथि हमला गरिरहेको पोखरेलले बताए । उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमालेमात्र हो भन्ने लागेर रास्वपा र बालेन विरोधमा उत्रिएको उनको दाबी छ ।
टिप्पणीहरू