बालेनको विरोध गर्न आवश्यक छैन : एमाले विद्यार्थी नेता

बालेनको विरोध गर्न आवश्यक छैन : एमाले विद्यार्थी नेता

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहको विरोध नगर्न सुझाएका छन् । मातृ पार्टीका अध्यक्षसहित शीर्ष नेताहरू बालेनको विपक्षमा बोलिरहँदा अखिलका नवनिर्वाचित अध्यक्षले फरक धारणा राखेका हुन् । 

कडरियाले एमालेमा लाग्दैमा बालेनको विरोध गर्नैपर्छ भन्ने कुरा आफूलाई स्वीकार्य नभएको प्रष्ट पारे । ‘एमालेमा लाग्नेबितिक्कै बालेनलाई गाली गर्नपर्छ भन्ने म मान्दिन । कसैले उहाँको व्यक्तित्व मन पराउन पाउँछ, किनकी उहाँ राम्रो र्यापर पनि हो, त्यसको फलोअर हुनसक्छ । उहाँका गीतहरु मन पर्न सक्छ’, एउटा पोडकास्टमा उनले भनेका छन् । 

यद्यपि नीतिगत रुपमा बालेनले अघि सारेका योजनामा भने बिमत्ति राख्न सकिने कडरियाको तर्क छ । पार्टीको आम ट्रेन्ड भन्दा फरक कोणबाट विषय उठाएका उनले यद्यपि सम्हालिंदै भने, ‘एउटा पार्टीलाई लगाउने आरोप जस्ता कुरामा चैं तालमेल नमिल्न सक्छ ।’

बालेनलाई मन नपराउनु भनेर एमालेले कार्यकर्तालाई नभनेकाले मन पराउँन पाइने तर्क कडरियाले गरेका छन् । आफ्नो पार्टीले युवाहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याउन नसकेकै कारण एमालेका छोराछोरी बालेनको समर्थक भएको उनको दाबी छ । 

तर, कडरियाले यसो भनिरहँदा आजैमात्र महासचिव शंकर पोखरेलले भने बालेनका समर्थकहरुले एमाले र ओलीमाथि हमला गरेको भन्दै प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आज दिउँसो काठमाडौँ जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उनले लोकप्रियतावादी शक्तिहरुले जनता अलमल्याएर एमालेमाथि हमला गरिरहेको दाबी गरेका थिए ।

‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन् । किन त भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन्’, शंकरले भनेका छन् । 

अनेरास्ववियुको निवर्तमान अध्यक्ष समिक बडाल पनि बालेनको खरो आलोचक हुन् । गत वर्ष अध्यक्ष केपी शर्मा ओलीको बालेनसँग सामाजिक सञ्जालमा ‘वार’ पर्दा उनी प्रतिरक्षाका लागि बेस्कन खटिएका थिए ।

https://youtube.com/shorts/22HFRP6pAXg?si=M8ijYwXh4qzsTuQp

टिप्पणीहरू