अध्यक्षमाथि प्रतिशोध साँधिएको नेकपा एसको ठहर
नेकपा एकीकृत समाजवादीले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ । पार्टी मुख्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव सोमप्रसाद पाण्डेले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको निष्कर्षमा पार्टी पुगेको जानकारी दिए । ‘अख्तियारले अध्यक्ष माधवकुमार नेपाललाई जुन मुद्दा लगाएको छ र त्यसको प्रतिरक्षा कसरी भइरहेको छ भन्ने विषयमा नेताहरुलाई जानकारी गराउने काम भयो । यसपछि के गर्ने विषयमा पनि हामीले छलफल गर्यौं’, उनले भने, ‘हामी के निष्कर्षमा पुगेका छौँ भने यो कानूनीभन्दा पनि राजनीतिक मुद्दा हो भन्ने कुरामा पुगेका छौँ । अध्यक्ष नेपालमाथि जुन मुद्दा लगाइएको छ त्यो कानूनी मुद्दा होइन ।’
अख्तियारले ०६९ सालमै तामेलीमा राखेको मुद्दा अहिले एकाएक ब्युँताइएकाले पनि पूर्वाग्रह देखिने उनको भनाइ छ । अध्यक्ष नेपालमाथिको मुद्दालाई पाण्डेले समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार भनेका छन् ।
सचिवालय बैठकले किसानलाई यथाशीघ्र रासयनिक मल वितरण गर्न सरकारसँग मागसमेत गरेको छ । साथै बैठकले पार्टीका नेता, कार्यकर्ताहरुलाई उक्त कार्यमा सक्रियतापूर्वक तयारीका साथ लाग्न अपिल गरेको उनले जानकारी दिए ।
टिप्पणीहरू