ऊर्जामन्त्री चीनमा,चिनियाँ पाहुना सिंहदरबारमा

ऊर्जामन्त्री चीनमा,चिनियाँ पाहुना सिंहदरबारमा

ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासन प्रशासक वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससिओ) ऊर्जा मन्त्रीस्तरीय बैठकमा भाग लिन चीन पुगेका मन्त्री खड्का र चिनियाँ प्रशासक वाङबीच निङबो शहरमा भेट भएको हो ।

भेटमा नेपाल–चीनबीचको ऐतिहासिक र दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध,आपसी विश्वास र ऊर्जा क्षेत्रमा सम्भावित सहकार्यका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ । चीनका ऊर्जा प्रशासक वाङ होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘दुई देशबीच ऊर्जा सुरक्षाको अभिप्रायले दीर्घकालीन सहकार्यका ढोका अझ फराकिलो बन्नेछ । यसमा दुबै मुलुक थप जिम्मेवार भएर अघि बढ्नुपर्ने छ ।’दुवै पक्षले आगामी दिनमा प्राविधिक टोली आदान–प्रदान गर्दै सहकार्यको व्यावहारिक पक्ष थप संस्थागत बनाउने सहमति गरेको बताइएको छ ।

यता नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिवसँग भेटवार्ता गरेको छ । बिहान पौने ११ बजे सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेको चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङतोङ प्रान्तीय कमिटी स्थायी समिति सदस्य तथा क्वाङतोङ वैदेशिक मैत्री संघका सभापति वाङ सी नेतृत्वको टोलीले सचिव रामप्रसाद घिमिरेसँग भेटवार्ता गरेको हो । पाँच सदस्यीय टोलीले विभिन्न विषयमा करिब एक घण्टा छलफल गरेको थियोे  ।

टिप्पणीहरू