प्रधानमन्त्री रियल म्याड्रिडको रंगशाला अवलोकन गरेर बल्ल स्वदेश फर्कने

प्रधानमन्त्री रियल म्याड्रिडको रंगशाला अवलोकन गरेर बल्ल स्वदेश फर्कने

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज स्पेन जान लाग्नुभएको छ । साँझ ६ कतार एअरवेजको उडानमा काठमाडौंबाट दोहा हुँदै म्याड्रिड पुग्ने र आगामी शुक्रबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ । 

उहाँ स्पेनको सेभिया शहरमा आयोजना हुन लागेको संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)’ शीर्षक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यता जान लाग्नुभएको हो । प्रधानमन्त्रीसङ्ग परराष्ट्र सचिव,अर्थ सचिव,प्रधानमन्त्री कार्यालयका सचिव,प्रमुख सल्लाहकार, स्वकीय सचिवसहित २१ सदस्यीय प्रतिनिधिमण्डल रहने छ । 

स्पेनका नरेश र प्रधानमन्त्रीसँग भेट गरेपछि उहाँले सोही क्रममा इस्टोनियाका राष्ट्रपति,इजिप्ट र पोर्चुगलका प्रधानमन्त्री तथा संयुक्त राष्ट्रसंघ महासचिवसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

सोही क्रममा एलडिसी (अल्पविकसित मुलुक) समूहको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । म्याड्रिडमा नेपाली र स्पेनी व्यवसायीहरूसँगको ‘नेपाल–स्पेन व्यापार तथा लगानी प्रवर्धन साँझ’ कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ । त्यसैगरी रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँग भेटघाट र रंगशाला अवलोकन गर्ने कार्यक्रम पनि छ ।

टिप्पणीहरू