नेताहरू, घर गएर कविता लेख्न थालौँ

नेताहरू, घर गएर कविता लेख्न थालौँ

नेपालका कैयन् पाठकलाई थाहा नहोला, अमेरिकी राष्ट्रपतिहरू थोमस जेफरसन, अब्राहम लिंकन, थिओडोर रुजबेल्ट, जोन एफ केनेडी, बिल क्लिण्टन र बाराक ओबामा राम्रै लेख्छन् । क्लिण्टनले जेम्स पिटरसनसँग मिलेर थ्रिलर उपन्यास लेखेका छन् भने बाराक ओबामाको ‘मेरा पिताको सपना’, ‘आशाको साहस’ र ‘प्रतिज्ञाको भूमि’ आदि कृति साँच्चिकै पठनीय छन् । जोन एफ केनेडीले लेखेरै ‘पुलिट्जर पुरस्कार’ पाएका थिए भने थिओडोर रुजबेल्टले ३५ वटा पुस्तक र डेढ लाख पत्र लेखेका थिए । 

अमेरिका मात्र होइन, विश्वको अर्को शक्तिशाली देश बेलायतका प्रधानमन्त्रीहरू पनि खुब साहित्यिक प्रेमी थिए । सर जोन मेजर बेलायतको प्रधानमन्त्रीत्व कार्यकालमै तनावबाट राहत पाउनका लागि गुप्त रूपमा कविता लेख्थे, जुन कुरा भूपू भएको कैयन वर्षपछि बल्ल बाहिर आयो । उनको इंग्ल्याण्डका, पूर्वक्रिकेट कप्तान लर्ड कोलिन काउड्रीको प्रशंसामा लेखिएको कविता आज पनि सम्झिइन्छ । अरु प्रधानमन्त्री बेञ्जामिन डिजराइली, सर विन्स्टन चर्चिललगायत धेरैलाई हामी यस मानेमा सम्झिन सक्छौँ । 

छिमेकी देशका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी राम्रै कविता लेख्थे । उनको गजल भारतका सुप्रसिद्ध गजल गायक जगजित सिंहले पनि गाएका छन् । त्यस्तै, जवाहरलाल नेहरूको पत्र निकै साहित्यिक मानिन्छ । यति मात्र होइन, भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्षअघि संसदमा निदा फाजलीको गजल वाचन गरेर ताली खाए । उनले वाचन गरेको ‘सफर में धुप तो होगी जो चल सको तो चलो’ले एकक्षण कविगोष्ठीको माहोल बनेको थियो । विश्वभरि यस्ता प्रतिनिधि उदाहरण असरल्ल छन्, प्रस्तुत गरिसाध्य छैन । विकसित देशका नेता राजनीतिबाट सन्न्यास लिएर लेखनतिर लागेको देखिन्छ भने हाम्रा नेताचाहिँ साहित्यबाट राजनीतितिर मोडिएको पाइन्छ । 

मलाई अचेल प्रधानमन्त्री केपी ओलीको कविता पढ्न मन लाग्छ । माओवादी अध्यक्ष प्रचण्डले लेखेको कहानी पढ्न मन लाग्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले लामा–लामा कविता लेख्न नसके पनि दुई÷चार पंक्तिको मुक्तक कोरुन् जस्तो लाग्छ । यी वृद्ध नेताले ‘हाम्रा शरीर गले, अब हामी मस्तिष्कको शक्तिले मात्र क्रियाशील हुन्छौँ’ भनेर राजनीतिक सन्न्यास लिई अन्य लेखन वा साहित्यमा उदाएमा, नयाँ पुस्तामाझ उनीहरूलाई हेर्ने दृष्टिकोणदेखि लिएर नेपाली लेखन र साहित्यको ओज पनि बढ्थ्यो तर भएन त्यस्तो । सत्तरी वर्षमा पनि अरु बीस वर्षसम्म राजनीतिक क्रियाशीलताको कुरा गर्छन् । सधैँ ‘आफैँ भइरहने नीति’ ले नयाँ पुस्ताको पालो कहिले आउला ? अवस्था विचारणीय छ । 

कुनै समय केपी ओली कविता लेख्नुहुन्थ्यो, साहित्यिक उपनामबाट । उहाँको ‘खर्पन’ कविता मैले पढेको छु । टिकटकरलाई बोलाएर बालुवाटारको महत्वपूर्ण समय नष्ट गर्नुको सट्टा त्यसरी नै एउटा देशभक्तिपूर्ण कविता सिर्जना गर्नुभएको भए कति फलदायी हुन्थ्यो ! कति प्रेरणा लिन्थे, हामीजस्ता नयाँ पुस्ताका साहित्यकारले उहाँको कविताबाट । प्रधानमन्त्रीले नै कविता लेख्न थालेपछि निःशुल्क पत्रिकाका भित्तामा छापिने कविता सःशुल्कमा परिणत हुन्थे ।

नेपालको इतिहासदेखि नै राजनीति र साहित्य परिपूरक छन् । मल्लकालमा थुप्रै राजाको साहित्यिक उपनाम थियो । प्रताप मल्ल ‘कविन्द्र’ भनी चिनिन्थे । त्यतिबेलाका धेरै राजा कवि मनका थिए भनेर इतिहासमा पढ्न पाइन्छ । त्यसपछि स्थापित भएका, शाह राजाहरू पनि साहित्यिक प्रेमी थिए । महेन्द्रले त मविवि शाहको नाममा कविताको पुस्तक नै निकाल्नुभयो, ‘उसैको लागि, फेरि उसैको लागि’ भन्दै । उहाँले राजनीतिक बन्दी रहेका बिपीको सिर्जनशीलतामा पनि कुनै रोकटोक गर्नुभएन । बिपीको त्यो साहित्यिक स्वतन्त्रता राजा महेन्द्रकै साहित्यप्रेमको उपज थियो । राजा महेन्द्रका छोराहरू रवीन्द्र शाहले लेख्नुभयो, ज्ञानेन्द्रले पनि ‘जि शाह’को नाममा कैयन् गीत कोर्नुभएको छ । हुँदाहुँदा शाहवंशका पछिल्लो राजा दीपेन्द्र शाहले समेत आफ्नै स्तरको कविता लेख्नुभएको मलाई याद छ । 

राजनीति आफ्नो ठाउँमा होला तर साहित्यलाई पनि उहाँहरूले स्थान दिनुभयो । राजाहरूले समेत साहित्यमा कलम चलाउने बेला ‘मधुपर्क’मा प्रकाशित हुने एउटा कविताले १५ दिनसम्मको घरखर्च धान्ने गरेको उतिबेलाका कविहरू बताउँछन् । आज मधुपर्कको अस्तित्व छ तर २५ रुपैयाँ तिरेर किन्न पनि मान्छेहरू तीन पटक सोच्छन् । मधुपर्क किन्ने पैसाले सूर्य चुरोट सल्काएर धुँवा उडाउन आनन्द मान्छन् । यस्तो किन भयो भने देशका नेता लेखनभन्दा राजनीति प्रिय भए । अचेल लेखनमा न पैसा छ न त शक्ति नै । पैसा र पावर दुइटै लिप्त हुने भएकाले नमरुञ्जेल राजनीतिमै लिप्त हुने इच्छा राखे हाम्रा नेताले । जुन कलम टेकेर आज यो स्थानमा आइयो, त्यही कलमलाई लौरो बनाएर हिँड्नुपर्ने समय–समयको भित्तामा तिनै कलम थन्क्याइए । यसका बाबजुद पनि केही नेताले साहित्यलाई प्रेम गरेकै देखिन्छ । 

वामपन्थी नेता प्रदीप नेपालले सञ्जय थापाको नाममा जीवनभरि साहित्यिक सिर्जना गरे । उनले जीवनमा राजनीतिक भाषण कति गरे, हिसाबकिताव छैन तर जीवनको अन्तिम समयमा उनको साहित्यिक पत्र अजर अमर भयो । कैयनले त्यो पत्रलाई जीवनको प्रेरणा स्रोत मानेर घरको भित्तामा टाँसेका छन् । प्रदीप गिरी लेखेरै अस्ताए । लोकेन्द्रबहादुर चन्द लेखिरहेका छन् । प्रदीप ज्ञवालीले पनि लेखनलाई माया गरेकै देखिन्छ तर राजनीतिबाट रिटायर भएर साहित्यिक सेवामा लाग्ने भनाइ चरितार्थ भएको देखिएको छैन । 

शहीदहरू शुक्रराज शास्त्री, गंगालाल, साहित्यिक शहीद सुब्बा कृष्णलाल अधिकारी, पञ्चायतकालका शहीद रत्नकुमार बान्तवाहरू राम्रै लेख्थे । माओवादी द्वन्द्वकालमा पनि कैयन् कलम निमोठिए । तानाशाह शासक डराउने भनेकै कलमसँग हो । कलममा बडो ठूलो शक्ति हुन्छ । ‘जनआस्था’कै सम्पादक किशोर श्रेष्ठ पनि आफ्नो कलम–शक्तिले सेनाको बन्दुक झुकाएर यहाँसम्म आएका छन् । आजको दिनमा यस्तो शक्तिशाली कलमको प्रतिनिधित्व गर्ने लेखनबाट लेखकहरू हराउँदै जानु दुःखदायी हो ।

यसरी लेखन र साहित्यलाई जोगाउन अब साठी नाघेका सम्पूर्ण वयोवृद्ध नेताहरू राजनीतिबाट सदाको लागि सन्न्यास लिएर लेखनतिर लाग्नुपर्छ, साहित्यमा भिज्नुपर्छ । गायकलाई बोलाएर गीत सुन्ने, टिकटकरलाई बोलाएर गफ सुन्ने प्रधानमन्त्रीले अब देशको एक युवा कविबाट कविता सुन्दै गरेको सुन्न पाइयोस् । राष्ट्रपति र प्रधानमन्त्रीबाट पनि कविता लेखियोस् । देशको साहित्य व्यावसायिक होस् । कवि गोष्ठी हुने हलको बाहिर पार्किङ कविहरूको कारले खचाखच भरियोस् । देशमा लेखनको जय होस्, साहित्यको जय होस् ।! 

टिप्पणीहरू