आफूलाई साथ दिन एलिनाको आग्रह

आफूविरुद्ध सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने प्रयोगकर्ताको धमाधम अकाउण्ट सार्वजनिक गरिरहेकी चर्चित गायिका एलिना चौहान साइबर ब्यूरो पुगेकी छन् ।
काठमाडौंको भोटाहिटीस्थित आज ब्यूरोको कार्यालय पुगेर उनले आफूविरुद्ध सञ्जालमा जथाभावी तथा अभद्र कमेन्ट र म्यासेज गर्नेहरुविरुद्ध उजुरी दिएकी हुन् ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीका अनुसार चौहानले चार जनाविरुद्ध उजुरी दिएकी छन् । उनले भने, ‘अश्लिल कमेन्ट गर्ने धेरै भएपनि उहाँले शुरुवातमा चार जनाविरुद्ध उजुरी दर्ता गराउनुभएको छ ।’
अब कारबाही प्रक्रिया अघि बढाउने एसपी अवस्थीले जानकारी दिए । ब्यूरोमा उजुरी दर्ता गराएपछि गायिका चौहानले आफूलाई साथ दिन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘यो लडाईं मेरो मात्र होइन, चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन । साथ दिनुहोला सबैले ।’
टिप्पणीहरू