प्रधानमन्त्री कार्कीको वाचा कुर्दै कार्की दाजुभाइ
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स काण्ड,सुरक्षा प्रिन्टिङ मेसिन र राष्ट्रिय भुक्तानी प्रणाली खरिदमा भएको अनियमितताले विकल पौडेल र सुनिल पौडेललगायत धेरैलाई जेल पुर्याउँदा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने त्यसमा समेटिएनन् ।
अन्य मन्त्रीलाई जिम्मेवार ठहराइँदा ज्ञानेन्द्रबहादुर आफ्नै भाइको विशेष पहलमा जोगिएको बुझिएको छ । सिनेमाका हिरो लोकेन्द्र कार्कीका दाइ– भोजपुरे ज्ञानेन्द्र तत्कालीन सञ्चारमन्त्रीको भूमिकामा रहे पनि निजमाथि मुद्दा नचलाइएको अवस्था छ ।
शौखले सिनेमा खेल्दै नेपाली सेनाको ठेक्कापट्टामा हात हालेका लोकेन्द्रले नै नेपाली सेनालाई कोरियन हतियार आपूर्ति गरेका थिए । एउटाको मूल्य ९०० अमेरिकी डलर तोकिएको के टु सिरिजको हतियार ८० हजार थान ल्याइएको थियो ।
तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा किनिएका ती हतियार थापाकै सालोसँग मिलेर कार्कीले ल्याएका हुन् । टेरामक्स, हतियारलगायत विभिन्न कारोबारबाट आर्जित कमिशन रकम उनले यसबीच सिङ्गापुरबाट दुबई पुर्याएको विश्वस्त प्रहरी स्रोतले जनआस्थालाई बताएको छ।
‘५० करोडभन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सिङ्गापुरबाट दुबई पुगेको छ । बाहिर–बाहिरै हिसाब मिलाएर उक्त रकम लगिएको हो । आर्थिक रूपमा सम्पन्न भएपछि कार्कीझैँ अरूले पनि विदेश बसिबसी नेपालमा कारोबार चलाउने गरेका छन्,’ स्रोतले भन्यो।
प्रधानमन्त्री सुशीला कार्कीले पाँच दिनमा भ्रष्टाचार छुमन्तर हुने भनी गरेको वाचा यी कार्की दाजुभाइका हकमा कति प्रभावकारी हुने हो, त्योचाहिँ परीक्षण हुन बाँकी छ ।

टिप्पणीहरू