बालेनको बुवा भन्दै जीवित व्यक्तिको फोटो पोष्ट गर्ने अनलाइनहरु कार्वाहीमा
सञ्चारमाध्यमबीच ‘छिटो हुने’ होडबाजीमा तथ्यगत पुष्टिबेगर सामग्री सम्प्रेषण गरिएको भन्दै प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ।
गत मंसिर १५ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का बुवा रामनारायण साहको निधन भएको थियो । त्यसक्रममा थुप्रै सञ्चारमाध्यमले बालेनका पिता भन्दै अम्बिकाप्रसाद अधिकारीको तस्बिर प्रकाशित गरेका थिए,जो स्वर्गीय र्यापर यमबुद्धका पिता हुन्,जीवितै छन् ।
त्यसप्रति काउन्सिलले भनेको छ, ‘सञ्चारमाध्यमबाट ‘को छिटो हुने’ होडबाजी र कपीपेष्ट शैलीमा तथ्यगत पुष्टिबेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदनामा खलल पुग्ने र असम्बन्धित व्यक्तिलाई पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’
काउन्सिलका अनुसार सो दिन १९ वटा अनलाइन मिडियाले गलत तस्बिर प्रयोग गर्नुका साथै एक अनलाइनले ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निधन भएको छ’ समेत भनी समाचार सम्प्रेषण गरेका थिए ।
केहीले काउन्सिलको निर्देशनपश्चात् वा निर्देशन बिनै क्षमायाचनासहित फोटो सम्पादन गरे पनि पछिल्लो समय गरिएको अनुगमनका क्रममा ६८ वटा अनलाइनमा सोही गलत तस्बिर कायमै रहेको देखिएको छ ।
‘सोही विषयलाई ध्यानमा राखी थप अनुसन्धान गर्दा अझै ६८ वटा अनलाइनबाट गलत तस्बिरसहितको सामग्री कायमै रहेको देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता अनलाइन सञ्चारमाध्यमलाई यसै विज्ञप्तिमार्फत तत्काल क्षमायाचनासहित तस्बिर सम्पादन गर्न गराउन निर्देशन दिइन्छ ।’
यी हुन् ती मिडिया
काठमाडौं महानगरका मेयर बालेनका बुवा स्व.रामनारायण भन्दै जीवित अम्बिकाप्रसादको तस्बिर पोष्ट गर्ने र अझै कायमै राख्ने ६८ वटा अनलाइन मिडियाको सूची प्रेस काउन्सिलले सार्वजनिक गरेको छ ।
काउन्सिलले आफ्नो वेबसाइटमा राखेको सूचीमा राजधानीसहित जनसवाल,एड्भो खबर,अखबार दैनिक, अक्षरपाटी,अर्थकागज,अर्थसमाचार, विशाल नेपाल,विश्व खबर,ईदैलोन्युज, दैनिक अनलाइन,गुप्तचर खबर, हल्दिबारी,हाम्रो इकोनोमी,हरियाली नेपाल,हिटखबर,जनप्रशासन, महागढीमाई,नेपाल मुहार,नेपाल पोष्ट डेली, ओमकार टाइम्स, पर्यटन नेपाल, सफल खबर, साझा दृष्टि, सजिलो पत्रिका, सजिलो खबर डटकल छन्।
त्यस्तै, सामाजिक फिड, समयहब, सेयरहब नेपाल, सिम्रिकखबर, सुनाखरी न्यूज, ताजा अपडेट, तरुन न्यूज, बिन्दु पोष्ट, चितवन पोष्ट, हाम्रो अर्थ, माई सञ्चार, नयाँ सञ्जाल, नेपाल बहस, नेपाल क्राइम, नुवाकोट पुकार, आवर प्रदेश, सफलखबर, सैलुङ्ग अनलाइन, साझापथ, उज्यालो अनलाइन, युगखबर, ब्रेकिङ्ग नेपाल, डोलेश्वर न्यूज, रेडियो जनकपुर, भोजपुरी टाइम्स डेली, दलित अनलाइन, रहस्यखबर, धरान न्यूज, हाम्रो देश, साझापथ, संसार न्यूज, ग्लोबल आवाज, प्रक्षेपण डेली, आदर्श डेली, सुदुर आज, लाल्टिन खबर, रोदिक खबर, यो बेला, आर्थिकपाटी, देशको न्यूज, जनप्रशासन र एभरेष्ट हेडलाइन डटकमले बालेनको बुवा भन्दै अम्बिकाप्रसाद अधिकारीको फोटो कायमै राखेकोले हटाउन निर्देशन दिइएको छ ।

टिप्पणीहरू