एक मृतकका अंगले आठ जनाको ज्यान बचाउँछः प्रत्यारोपण केन्द्र
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्युपश्चात् खेर जाने अंग दान गर्न आग्रह गरेको छ । एक मृत व्यक्तिका अंगले आठ जनासम्मको ज्यान बचाउनसक्ने जनाउँदै अंग फेल भएका बिरामीहरुले नयाँ जीवन पाउने पुण्यको काम गर्न अनुरोध गरिएको हो ।
आज सूचना जारी गर्दै केन्द्रले कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थामा मस्ष्तिक मृत्यु भएमा त्यसको जानकारी प्रत्यारोपण कानूनबमोजिम गराउन आग्रह गरेको छ ।
‘मस्ष्तिक मृत्यु भएका व्यक्तिको परिवारले अंग लिन मञ्जुर भएमा एक मृत व्यक्तिका अंगले आठ जनासम्मको ज्यान बचाउन सकिन्छ,’ भनिएको छ, ‘तसर्थ, विभिन्न अंग फेल भएका व्यक्तिहरुले चिकित्सकको सिफारिससहित यस समन्वय इकाइको प्रतिक्षा सूचीमा नाम दर्ता गर्नुहुन जानकारी गराइन्छ ।’
केन्द्रले यसरी प्राप्त हुने अंगलाई सुरक्षित रुपमा राख्ने र प्रत्यारोपण गर्नुपर्ने व्यक्तिमा कानूनले तोकेअनुसार प्राथमिकताक्रमका आधारमा मात्र विवरण गरिने भएकाले दुरुपयोग हुन नदिने सुनिश्चिततासमेत गरेको छ ।
साथै, अंगदान गर्ने परिवार र मस्तिष्क मृत्यु घोषणा गर्ने अस्पताललाई तोकेबमोजिम आर्थिक सहयोग उपलब्ध गराइने केन्द्रको भनाइ छ । अंगदान तथा प्रत्यारोपणको लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म केन्द्रको टेलिफोन नम्बर ०१–६६१४०४७ वा चौबिसै घण्टा सम्पर्कका लागि ९८२३५८१७१४ मा सम्पर्क गर्न भनिएको छ ।
टिप्पणीहरू