सुनचाँदी व्यवसायीहरुलाई आशिकाको साथ

सुनचाँदी व्यवसायीहरुलाई आशिकाको साथ

गत जेठदेखि आन्दोलन गर्दै आएका सुनचाँदी व्यवसायीहरुको विरोध कार्यक्रम आज पनि जारी छ । उनीहरुले काठमाडौंका ३१ र १० नम्बर वडाका सबै सुनचाँदी पसल बन्द गराएका छन् । 

आगामी आर्थिक वर्षको बजेटमा सुन र सुनका गहनामा २ प्रतिशत विलासिता कर एवम् हिरा जवाहरत लगायतका बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय विपरित नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको तर्फबाट संयुक्त रुपमा विरोधका कार्यक्रमहरु आयोजना गरिएको छ । जसअनुसार आज बानेश्वर क्षेत्रका कात्यानी चोक,संगम चोक,मिलन चोक, नयाँ बानेश्वर चोक र कोटेश्वर चोक वरपरका सबै सुनचाँदी पसल बिहान साढे ९ बजेसम्म खुलेका छैनन् । पछिल्लो केही दिनदेखि उनीहरुले माइतीघरमा प्रदर्शन र र्याली निकाल्दै आएका छन् ।

यता, रत्नपार्कस्थित गणेश मन्दिर परिसरमा नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिले रिले अनसन गर्दै आएको छ । अनसनस्थल पुगेर अभियन्ता भनिने आशिका तामाङलगायतले सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । 

सुनचाँदी व्यवसायीहरुले घोषित आन्दोलनमा सहभागी नहुने सदस्यलाई तीन हजार जरिवाना गर्ने निर्णय गरेका छन् । माइतीघरसम्म जान र फर्कन उनीहरुलाई सवारी साधनको व्यवस्थासमेत गरिएको जानकारी दिइएको छ ।
 

टिप्पणीहरू