रौतहट बम विस्फोटका घाइतेको बिलौना : शरीर काम नलाग्ने भयो, मैले कसरी गरि खाने ?
रौतहटको बम विस्फोटको घटनाका पीडित पहिलोपल्ट मिडियामा सार्वजनिक भएका छन् । भारतमा बस्दै आएका ४३ वर्षीय गौरीशंकर राम चमारले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर घटनाको फेहरिस्त सुनाएका हुन् ।
इँटाभट्टामा जिउँदै मान्छे जलाएको यस प्रकरणका मुख्य आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको थाहा पाएपछि घटनाको वास्तविकता बताउन नेपाल आएको चमारले बताए । अदालतले उक्त घटना नै नघटेको विश्लेषणसहित आलमलाई सफाइ दिंदा पुरानो घाउ पुनः बल्झिएको उनको दुखेसो छ ।
पीडित चमारका अनुसार त्यतिबेला इँट्टाभट्टामा काम गर्ने मजदुरलाई साप्ताहिक रुपमा ज्याला दिइन्थ्यो । र, बम विस्फोट भएको दिन (२०६४ चैत २७) पनि उनीसहित तीन जना पारिश्रमिक लिन आलमको घर गएका थिए ।
‘हामी तीन जना थियौँ, घरको ढोको छेउमा पुग्दा बम पड्कियो, मेरो शरीरमा आगो लागेपछि म भागेँ’, उनले सुनाए, ‘त्यो घरको पछाडि पानीको सानो पोखरी थियो, म त्यही हाम फालेँ, त्यसपछि मलाई थाहा भएन के के भयो, एकैचोटी मेरो सितामढी अस्पतालमा आँखा खोल्यो ।’
चमारले आफ्नो उपचारमा साढे तीन लाखभन्दा बढी भारतीय रुपैयाँ खर्च भएको पनि बताए । ‘तीन महिना अस्पतालमै राखेर उपचार गरियो, उसले (आलम)ले एकचोटी पनि सोधेन, मान्छेलाई के कस्तो छ ? एक रुपैयाँ पनि दिएन’, भने, ‘आज म निवेदन गर्छु सरकारसँग, त्यस्तो मान्छेलाई छाड्नुभएन । त्यसलाई कडा सजाय दिनुपर्यो ।’
अदालतले आलमलाई सफाइ दिँदा पीडितलाई झन् पीडा थपिएको चमारको गुनासो छ । उनले रुँदै भने, ‘त्यस्तो मान्छे छुटेको छ, मलाई धम्की दिएको थियो, मलाई मार्छ । मैले कसरी गरि खाने ? मेरो शरीर काम नलाग्ने भयो, काम पनि गर्न सक्दिनँ, काम पनि पाइँदैन । म कसरी बाँच्ने, केही उपाय देखेको छैन ।’
टिप्पणीहरू