शिक्षा समितिमा घोचपेच

शिक्षा समितिमा घोचपेच

विद्यालय शिक्षा विधेयक टुंगो लगाउन छलफलमा जुटेका सांसदहरुबीच संसदीय समितिमा घोचपेच चलेको छ । आज बसेको शिक्षा समितिको बैठकमा सभापति अम्मबहादुर थापाले नेपाली कांग्रेसका सांसद श्याम घिमिरेलाई प्रमुख सचेतकको हैसियतमा बोल्न दिएपछि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रकी सांसद रेखा शर्माले आपत्ती जनाइन् । त्यसपछि सांसदहरु भनाभनमा उत्रिएका हुन् ।   

सभापति थापाले कांग्रेसका प्रमुख सचेतक घिमिरेलाई समय उपलब्ध गराइएको बताउनासाथ पूर्व मन्त्रीसमेत रहेकी शर्माले समितिको बैठकमा सबैले सदस्यको हैसियतामा बोल्नुपर्ने र कुनै पार्टीको प्रमुख सचेतकको ह्वीप नमान्ने बताइन् । लगत्तै सभापति थापाले सच्याउँदै भने, ‘माफ गर्नुहोला, सदस्य भन्नुपर्नेमा प्रमुख सचेतक भन्न पुगेछु ।’

त्स्तै, शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा कतिपय विषय अझै टुंग्याउन बाँकी रहेको र त्यसको लागि समय चाहिने भन्दै बैठक स्थगित गर्न प्रस्ताव गरेपछि सभापति थापा रिसाए । पन्तले भनेका थिए, ‘महासंघलाई शिक्षक पदपूर्तिको लागि ६०/४० मा सहमति गरायौँ, अझै केही छलफल टुंग्याउनुपर्ने देखियो, समय चाहिने भयो ।’

जवाफमा सभापति थापाले शिक्षामन्त्रीकै कारण विधेयकमा दोधार थपिँदै गएको भन्दै असन्तुष्टि जनाए । ‘सरकारलाई हामीले भनेको समितिले सबै मान्नुपर्छ भन्ने दम्भ नहोस् । कहिले सहमति भयो भन्ने, कहिले के भन्ने । दाेधार धेरै भयाे । मन्त्रीज्यू यहीँ उपस्थित हुनुहुन्छ, समितिले गरेको निर्णय पनि मान्नुपर्यो’, उनको भनाइ रह्यो । 

बैठक स्थगित गर्ने मन्त्रीको प्रस्तावमा सांसद शर्माले पनि आपत्ति जनाईन् । बैठक कसको ‘कन्ट्रोल’मा छ ? भन्दै सभापति थापामाथि नै उनले प्रश्न गरिन् । 

‘हामीलाई किन दुःख दिन बोलाएको हो ? यो बैठक सभापतिको नियन्त्रणमा छ कि अरुको ?’ उनले भनिन्, ‘हामी आफ्नो काम छोडेर जिल्लाबाट आएका छौ, यस अघि पनि त्यसरी आएका थियौँ, बैठक ठीक ढंगले चलाइयोस् । सरकारलाई चित्त बुझेन भनेर सरकारले फिर्ता लिन सक्छ ।

टिप्पणीहरू