रसुवामा बाढीको वितण्डा, चितवनमा सतर्कता

रसुवामा बाढीको वितण्डा, चितवनमा सतर्कता

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली तथा नारायणी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रसुवा र नुवाकोटमा आएको भीषण बाढीसँगै जिल्लाको त्रिशुली तथा नारायणी नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्नसक्ने सम्भावनातर्फ सचेत हुन आग्रह गरेको छ । 

सिडियो कार्यालयले माछा मार्ने, दाउरा संकलन, बालुवा झिक्नेजस्ता काम नगर्न र नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सावधानी अपनाउन भनेको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘रसुवाको माथिल्लो भेगमा पहिरोको कारणले नदी थुनिएर रहेको अवस्था पनि बुझिएको हुँदा रोकिएको ठाउँ खुली त्रिशुली नदी तथा नारायणी नदी किनारमा जोखिम हुनसक्ने देखिएकोले अर्को सूचना जारी नभएसम्म थप सतर्कता र सावधानी अपनाउनुहुन अनुरोध गरिन्छ ।’

साथै, बाढी, पहिरो वा अन्य क्षतिको जोखिम देखिएमा तुरुन्तै नजिकैको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल नम्बर १०० वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको मोबाइल नम्बर ९८४४२०८८८८ मा जानकारी गराउन आग्रह गरिएको छ । 

छिमेकी राष्ट्र चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) मा परेको अविरल वर्षाका कारण आज बिहान भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ ।

टिप्पणीहरू