विवाहका सबै तैयारी मध्यरातमा खरानी
चितवनको नारायणगढ, प्रेसमार्गस्थित शुभम् इन्टरप्राइजेजमा गएराति अचानक आगलागी हुँदा कारखाना र गोदाम जलेर नष्ट भएको छ । आगोबाट अफिसको थोरै भागमात्र बचेको छ ।
विवाह तथा व्रतबन्ध कार्डको होलसेल पसलमा राति साढे ११ बजेतिर भएको आगलागीबाट मेसिन र कार्डहरु जलेर ध्वस्त हुँदा करोडभन्दा बढी क्षति हुन गएको प्रोप्राइटर विष्णु देवकोटाले बताए । कम्प्रेसर, कटिङ मेसिनलगायत पच्चिसौं लाख बराबरका मेसिन÷उपकरणहरु र कागजका सबै सामान नष्ट भएका छन् ।

प्लाष्टिक र्यापिङसमेत गरिसकिएका अन्तिम तयारी मालहरु सम्पूर्ण नै जलेर नष्ट भएका देखिन्छन् । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाको विस्तृत अनुसन्धान हुन बाँकी छ । आगलागीलगत्तै प्रहरी टोली पुगेको थियो । तीनवटा दमकलको सहायताले आगो निभाइएको र बिहान बीमा कम्पनीका प्रतिनिधिसमेत आएर हेरिसकेको बताइन्छ । वडाअध्यक्षलाई पनि बिहानै घटनाबारे जानकारी गराइएको थियो ।

स्थानीय गणेशलाल श्रेष्ठको घरमा आजभन्दा डेढ दशकअघि करिब १० लाखको लगानीमा प्रारम्भ गरिएको व्यवसायले बिस्तारै प्रगति गर्दै गइरहेको अवस्थामा हिजो अचानक उक्त दुर्घटना भएको हो ।
घरधनीले आपतकालीन परिस्थितिमा घरभाडा छुट लगायतमा गर्नुपर्ने सहयोगका विषयमा परिस्थिति हेरेर आवश्यक मद्दत गर्न सकिने सकारात्मक धारणा व्यक्त गरेका छन् ।
– अजय गोर्खाली
टिप्पणीहरू