रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको खुलासा

रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको खुलासा

गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अरुलाई नैतिकताका कुरा सिकाउन नमिल्ने बताएका छन् । रवि लामिछाने नेतृत्वको रास्वपाका सांसदहरुले संसदमा दिएका अभिव्यक्तितर्फ संकेत गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नको जवाफमा आक्रमक सुनिएका गृहमन्त्री लेखकले भ्रामक प्रचार भनेका छन् । प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरू सरकारले निर्णयबाट लैजाने र नामहरु सार्वजनिक हुने अभ्यास सम्झाउँदै उनले यस्ता न्यूनतम  जानकारी राख्न रास्वपाका सांसदहरुलाई आग्रह गरे ।

कल्पना र अनुमानका भरमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि नपुगिने गृहमन्त्रीको भनाइ छ । त्यसक्रममा उनले रास्वपा सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको दाबी पनि गरे ।

लामिछाने भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर बसेको गृहमन्त्री लेखकको जिकिर छ । भिजिट भिसामा गएको व्यक्ति उतै लुकेपछि त्यहाँको नागरिकता पाएको बताए । 

‘भिजिट भिसामा अमेरिका गएको मानिसले त्यही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ?’, लेखकले सोधे, ‘त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?,’

नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्नेभन्दा आफूबाट लागू गर्न उनले रास्वपाका सांसदहरुलाई आग्रह पनि गरेका छन् ।

यस्तो छ गृहमन्त्री लेखकको भनाइ :

हिजोआज सम्माननीय प्रधानमन्त्रीज्यू मित्रराष्ट्र स्पेनको भ्रमणमा जानुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूसँग गएका मानिसहरु उतै बसे भन्नेकुरा उठिरहेको छ । हामीले पनि कुनैपनि विषयको न्यूनतम जानकारी र ज्ञान राख्नुपर्छ । कमसेकम सम्मानित सदनमा अत्यन्त जिम्मेवार भएर विषयलाई मर्यादित ढंगले प्रस्तुत गर्दा राम्रो हुन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूले विदेशको औपचारिक भ्रमण गर्दा उहाँको प्रतिनिधिमण्डलामा जाने मानिसहरुको नेपाल सरकार मन्त्रीपरिषद्ले निर्णय गरेरमात्रै जान्छ । को-को मानिस सम्माननीय प्रधानमन्त्रीजीसँग विदेश जानुभएको भन्नेकुरा सार्वजनिक हुन्छ । को-को जानुभएको थियो, त्यसमध्ये को फर्किएर आएन भनेर भनिदिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो । होइन भने यस्ता कल्पनामा, अनुमानमा असत्यका पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन ।

जो साथीहरुले कुरा उठाइरहनुभएको छ, मैले एउटा करा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरुलाई थाहा होला र मलाई पनि जानकारी छ । मान्य रवि लामिछानेजी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो की होइन ? होइन भने के भिसामा जानुभएको हो ? त्यो जानकारी गराइदिनुहोला । 

भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ की पाइँदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन । अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ की हुँदैन । नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने की आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइँन । तर साथीहरुले अलि गर्न नहुनेतिर बढी लाग्नुभएको छ ।

टिप्पणीहरू