न इरानी रेजा फर्किए : न त नेपाली राजा

न इरानी रेजा फर्किए : न त नेपाली राजा

उता साह लेख्छन् । यता पनि शाह नै । उता अर्थात् इरानमा । यता अर्थात् नेपालमा । दुवैको शाह मात्रै मिल्ने कुरा छैन । संरचना पनि मिल्ने छ । उता इस्लामिक गणतान्त्रिक आन्दोलनले शाह वंश हटायो । यता नेपाली गणतान्त्रिक आन्दोलनले राजतन्त्र हटायो । र, अहिले यी दुवै वंश सत्तामा आउन लालायित छन् । आउने कारण भने उनीहरूको सत्ता सबैभन्दा उत्कृष्ट भएर होइन । अहिले सत्ताधारीहरूले जनतालाई खुशी बनाउन नसकेर हो तर उनीहरूको आगमन हुने छाँटकाँट भने छैन । 

न नेपालमा राजावादीले गरेको आन्दोलनका बलमा पूर्वराजा ज्ञानेन्द्र गद्दीमा फर्कन सके न त इरानी सत्ता ढाल्ने इजरायली र अमेरिकी लहैलहैमा लागेर सत्तामा आउन खोजेका रेजा साह पहल्वी नै सफल भएका छन् । यताका राजा र उताका रेजाको उस्तै हाल भयो । यताका राजालाई बोक्ने आन्दोलनकारीको ताकत तीनकुने घटनाक्रमपछि सकियो । उताका रेजालाई बोक्ने इजरायली र अमेरिकी ताकत १२ दिने इजरायली र इरानी युद्धपछिको बाध्यात्मक युद्ध बिरामपछि रोकियो । यता राजा ल्याउनमा भारत र नेपालकै पनि हिन्दूवादीको एक बलियो हिस्साको रुचि छ । उताका राजालाई ल्याउन इजरायल, अमेरिकालगायत इरानका केही डायस्पोरा र राजावादीको रुचि छन् । रुचि भएरै मात्रै होइन, उनी आउन खोजेको ।

इरानमा भर्खरै महिला आन्दोलन उठेको थियो । विपक्षीको पेलपाल इरानमा जारी छ । त्यही असन्तुष्टिलाई ध्यान दिएर रेजाले सार्वजनिक सन्देश दिए । सडक तताएर सत्ता ढाल्न आग्रह गरे । उक्त आग्रहले काम गरेन । इरानका शीर्ष सैन्य नेताहरू मारिएका थिए । सर्वोच्च नेता खामेनी पनि बंकरमै लुके । इजरायलले इरानी आकाशमा धमाधम गोलाबारी ग¥यो । अमेरिकाले बंकर बस्टर बम बोकेका विमान ल्याएर परमाणिक ऊर्जा केन्द्रमा धमाधम हान्न थाल्यो तर इरान रक्षात्मक देखियो । इरानलाई सैन्य बलबाटै जित्न धेरै जनधनको क्षति हुने बुझेका इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई विद्रोह गर्न उक्साए । त्यसैमा थपिए रेजा तर यी तीनै पक्षको केही लागेन । रेजा आउन पाएनन् । अहिले अलजजिराजस्ता विश्वविख्यात मिडियादेखि सामाजिक सञ्जालहरूमा उनका कार्टुन बनिरहेका छन् । एआईको भरपुर प्रयोग हुँदैछ । 

अघिल्लै हप्ताको शुक्रबार इरानमाथि इजरायलले हमला गर्‍यो । आणविक र सैन्य नेतृत्वका केही प्रमुख अनुहारलाई मारियो । अहिले इरानले इजरायली भूमि र इजरायलले इरानी भूमिमा हवाई हमला जारी राखेका छन् । आफ्नो देशमा विदेशी हमला हुँदै गर्दा सन् १९७९ मा हटाइएका राजाका जेठा छोरा तथा पूर्वयुवराज रेज पहल्बी भने अहिले इजरायली समर्थनमा छन् । बेञ्जामिन नेतान्याहुले भनेजस्तै उनले सत्ता परिवर्तनको कुरा गरिरहेका छन् । हालैको एक भिडिओ सन्देशमा उनले भनेका छन्, ‘इस्लामिक गणतन्त्रको अन्त्य हुने बेला आएको छ । अब इरान फिर्ता लिनुपर्छ ।’ सर्वोच्च इस्लामिक नेता अली हुसेनी खामिनीलाई पनि कटाक्ष गर्दै भनेका छन्, ‘डरपोक खामिनी अहिले मुसाजस्तो दुला पसेका छन् ।’ इस्लामिक सत्ता ढाल्न जनताकै आवाज महत्वपूर्ण भएको भन्दै पूर्वयुवराजले भिडिओमा भनेका छन्, ‘देशभर जनप्रदर्शन गरेर मात्रै यो कालकोठरी सत्तालाई ढाल्न सकिन्छ ।’ 

इस्लामिक गणतन्त्र पक्षधर र इरानप्रति सफ्ट कर्नर राख्नेहरूले भने पूर्वयुवराज रेजाको आलोचना गरेका छन् । उनलाई इजरायली जासुस र पपेट भन्नेहरू धेरै छन् । उनी लोकतन्त्रको पक्षधर भन्दै चित्रित गर्नेहरूको पनि एक ताँती छ । तर, रोचक कुरा यो छ कि रेजाका अपदस्थ पिता मोहम्मद रेजा पहल्बीलाई पनि तानशाह भनी इतिहासमा आलोचना गरिन्छ। 

सन् १९७९ जनवरी १५ मा इस्लामिक गणतन्त्र स्थापनाको दौरान इरानका अन्तिम राजा देश छोडेर भागे । सन १९४१ बाट सत्तारुढ उनलाई क्यान्सर पनि थियो । उनी देशबाट भागेर इजिप्ट, मोरक्को, बहामस र मेक्सिको जस्ता देशमा डुले । राजतन्त्र अन्त्यको अर्को वर्ष इजिप्टमा निधन भयो । अहिले दुईबाहेक अरू छोराको पनि निधन भइसकेको छ । सन २०११ मा अमेरिका बस्ने कान्छा छोरा अलिरेजाले डिप्रेसनमा पुगेर आफैँँलाई गोली हानी हत्या गरे । जेठा छोरा तथा पूर्वयुवराज रेजा भने जीवित छन् । उनी इरानी डायस्पोराका मिडियामा इरानी सत्ताविरोधी आवाज बोकेर आइरहेका हुन्छन् । इरानले दुश्मन मान्ने इजरायलसँग उनको राम्रो सम्बन्ध छ । दुई वर्षअगाडि इजरायल भ्रमण गरेका थिए । 

उसो त इरानी राजतन्त्र र इजरायलको सम्बन्ध डे वानबाटै राम्रो थियो । इजरायल देशको रूपमा जन्मिएको सन् १९४८ मा हो । दक्षिण एशियाबाट पहिलो देशको मान्यता दिने नेपाल थियो । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले यो निर्णय लिएका थिए । मुस्लिम बाहुल्य देश इरान इजरायललाई मान्यता दिने दोस्रो मुलुक हो । पहिलो मुलुक टर्की थियो । इरानले अरब देशको टोकसोलाई व्यवस्थापन गर्न इजरायलसँग व्यापारदेखि जासुसी संयन्त्रसम्मको सहकार्य गरेको थियो ।

इजरायल स्थापनाताका ४० प्रतिशत तेल इरानबाट आउँथ्यो भने सट्टामा इरानले हतियार, प्रविधि र कृषि सामग्री लिन्थ्यो तर राजतन्त्र अन्त्य भएपछि ठीक उल्टो भयो । पहिला इजरायलमाथि हमला गर्ने देश इजरायलका मित्र भए । इरान दुश्मन भयो । त्यही उलटफेरको एक किस्ता हो– अहिले इजरायलले इरानमा सत्ता परिवर्तन गर्न खोज्नु र पूर्वयुवराजले सडक तताउन इरानीहरूलाई उक्साउनु । 

जति नै बलियो विगत भए तापनि र जति नै बलिया शक्तिहरू जस्तैः इजरायल तथा अमेरिकाले साथ दिए पनि इरानी जनताले साथ नदिँदा रेजा फर्कन सकेनन् । ठीक त्यसैगरी भारतको बुइ चढेर, चीन वा अमेरिकाको साथ लिएर आउन खोजे पनि नेपालमा जनताको साथ नहुञ्जेल राजा आउने सम्भावना छैन । जबसम्म जनता दायाँ हुन्नन्, तबसम्म सत्तापलट हुन्न भन्ने नजिर इरानी रेजा र नेपाली राजाबाट प्रष्ट देखिएको छ । 

टिप्पणीहरू