तातोपानीमा विदेशी पर्यटकको ताँती

तातोपानीमा विदेशी पर्यटकको ताँती

नेपाल–चीन बीचको प्रख्यात व्यापारिक नाका तातोपानीमा पछिल्ला केही दिनदेखि छुट्टै चहलपहल बढेको छ । नाकामा परम्परागत व्यापारिक र व्यावसायिक गतिविधिले चहलपहल बढेको भने होइन । चीन सरकारले तातोपानी नाका भएर सिचाङ (तिब्बत) स्थित प्रसिद्ध धार्मिकस्थल कैलाश मानसरोवर आवागमन गर्न अनुमति दिएपछि अहिले उक्त सडकमार्ग हुँदै जान धार्मिक पर्यटकहरु ओइरिन थालेका हुन् ।

गत मंगलबार भोटेकोशीमा आएको भीषण बाढीले रसुवा टिमुरे केरुङ सडक सम्पर्क विच्छेद भएपछि कैलाश मानसरोवर जाने र उताबाट तातोपानी हुँदै नेपाल फर्किने पर्यटकहरुको संख्यामा एक्कासी वृद्धि भएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ । २०७२ को महाभूकम्प र लगत्तैको भोटेकोसी बाढीका कारण चीन सरकारले तातोपानी नाका भएर  कैलाश मानसरोवर आवागमनमा प्रतिबन्ध लगाएको थियो । गत सातादेखि रसुवाको टिमुरे केरुङ सडक अवरुद्ध भएपछि चीनले तातोपानी नाका भएर कैलाश मानसरोवर आवागमनमा अनुमति दिएको हो ।

अध्यागमन कार्यालयका अनुसार दैनिक दुई सयभन्दा बढी पर्यटकहरु तातोपानी नाका भएर चीनतर्फ जान थालेका छन् । उताबाट नेपाल भित्रिने संख्या झण्डै दोब्बर हुने गरेको छ । भोटेकोसी बाढीका कारण तिब्बती भूभागमा अलपत्र पर्यटकहरु तोतापानी नाका भएर फर्केका कारण पर्यटकको संख्या बढेको हो । 

पछिल्लो एक सातामा तातोपानी नाका भएर चीन आवागमन गर्नेको सख्या एक हजार पाँचसय ३३ जना पुगिसकेको छ । जसमा चीन प्रवेश गर्नेको संख्या ५१८ जना छ भने नेपाल भित्रिनेको संख्या एक हजार १८ जना छन् । हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्रको रुपमा रहेको कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकमा भारतीय नागरिक बढी छन्  । 

तातोपानी नाका भएर आउजाउ गर्नेमा अमेरिका, क्यानडा, स्वीडेन, नेदरल्याण्ड र सिंगापुरका पर्यटकहरु पनि उल्लेख्य छन् । तर सडकको दुरावस्थाका कारण पर्यटकहरु मारमा पर्ने गरेका छन् । बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटरको बाटो बाढी र पहिरोले अवरुद्ध बनाएपछि स्थलमार्ग भएर आवागमन गर्ने यात्रुहरु मारमा पर्दै आएका हुन् । 

वार्षिक अर्बौंको राजश्व सकंलन हुने यो नाकासम्म पुग्ने सडकप्रति सरकारको उदासीनताले आफूहरुलाई दुःखी बनाएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा बताउँछन् । चालु आर्थिक वर्षको अन्त्यसम्म लगभग १९ अर्बभन्दा बढी राजश्व संकलन भएको तातोपानी भन्सार कार्यालय जनाएको छ । तर सडकको कन्तबिजोगप्रति सरकारको ध्यान कहिल्यै नगएकोमा अध्यक्ष शेर्पाले रोष प्रकट गरे । ‘सरकारले लिन मात्र जानेको रहेछ, दिन जानेको रहेनछ,’ उनले दुखेसो पोखे ।

 

टिप्पणीहरू