माननीयको ‘कपल पोज’
संसद कानुन निर्माणको सर्वोच्च निकाय हो । आम नागरिकले जनप्रतिनिधिमाथि ठूलो विश्वास र भरोसा राखेको हुन्छ । त्यसकारण उनीहरुका बोली, व्यवहार र आचरण सँधै चासोको विषय बन्ने गर्छ ।
तर, उच्च नैतिकवान हुनुपर्ने सांसदहरूले पदीय गरिमा कायम राख्न नसकेका धेरै उदाहरण छन् । पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विनिता कठायतमाथि त्यस्तै आरोप लागेको छ ।
रवि लामिछानेसँगै टेलिभिजनमा काम गर्दागर्दै समानुपातिक सांसद बनेकी कठायत भद्दा पोशाकमा एक युवकसँग रोमान्टिक अवतारमा प्रकट भएपछि रास्वपा वृत्त गर्माएको छ । जुम्लाकी कठायतको हालै सार्वजनिक एक भिडियोमा उनी कुनै सिनेमाको ’बोल्ड’ र ’सेक्सी’ नायिकाझैँ देखिएकी छन् ।
फिट्नेस सेन्टरमा बनाइएको भिडियोमा सांसद कठायतले ‘सपनाभरी म तिमीलाई नै देख्छु’ बोलको गीतलाई पृष्ठभूमिमा राखेर एक युवकसँग हात समाउँदै ‘कपल पोज’ दिएको देखिन्छ ।
हुन त, भिडियो कस्तो र कोसँग बनाउने भन्ने व्यक्तिको निजी मामिला हो । तर, सार्वजनिक जीवन बाँचिरहेकाहरू ’पब्लिक अडिट’ मा रहने भएकाले उनीहरुले चाहेर पनि धेरैकुरा निजी रहँदैन । यस्ता विषयमा राजनीति गर्नेहरूले झन बढी सतर्क रहनैपर्छ ।
कठायतको हकमा रास्वपाका कार्यकर्ताले नै ’पार्टी अभियानमा अनुहार नदेखाउने, जिम पुगेर बोल्ड भिडियो बनाउन फुर्सद हुने’ भन्दै आक्रोश पोखेको देखिन्छ । सभापति रवि लामिछानेलाई छुटाउन पार्टीले हस्ताक्षर संकलन अभियान चलाइरहेको बेला उनले खासै समय नदिएको गुनासो तीनैले गरेका छन् ।
‘संसद बैठक बसेको बेलाबाहेक अरु समय उहाँ कार्यालयमै आउनुहुन्न, पार्टीलाई जति समय दिनुपर्ने हो, दिइरहनुभएको छैन । उहाँ पार्टीको अभियानमा भन्दा पनि जिम गएर ज्यान बनाउने अभियानमा लाग्नुभएको छ’, भिडियोबारे सोधिएको प्रश्नमा जिल्ला तहका एक नेताले कटाक्ष गर्दै भने ।
सांसद कठायत यसरी आलोचनामा परेको यो पहिलोपल्ट भने होइन । गत जेठ अन्तिम साता एक पोडकास्टमा ‘शारिरिक सम्बन्धको लागि बिहे गर्नैपर्छ भन्ने छैन, मेरो बोइफ्रेण्ड छ तर बिहे गर्दिनँ’ भनेपछि उनको चर्को आलोचना भएको थियो । त्यसअघि पोखरामा भएको प्रदर्शनमा अर्की सांसद तोसिमा कार्कीको गालामा चुम्बन गर्दै ‘मिडिया स्न्टन्ट’ गरेपछि पनि उनको विरोध भएको थियो ।
टिप्पणीहरू