विद्या र प्रचण्डलाई भेटेपछि शेखर- ‘मोर्चा बन्दैन, मिलेर जाने समझदारी छ’
नेपाली कांग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोइरालाले २४ घण्टाको अन्तरालमा दुई शीर्ष कम्युनिष्ट नेतालाई भेटेपछि राष्ट्रिय राजनीतिमा नयाँ चर्चा शुरु भएको छ । हिजो प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सवा दुई घण्टा गोप्य वार्ता गरेका उनले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा पुगेर भेटेका हुन् ।
कांग्रेस-एमाले गठबन्धन सरकारप्रति शुरुबाटै असन्तुष्ट रहेका शेखर पछिल्लो समय सरकारको विकल्प खोज्नुपर्ने पक्षमा खुलेरै लागेका छन् । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काँध थापिदिएकोमा उनको तीब्र आक्रोश छ ।
हिजो साँझ खुमलटार पुगेर प्रचण्डसँग दुई घण्टा लामो वार्ता गरेको उनले आज बिहान भंगालमा भण्डारीसँग एक घण्टाभन्दा बढी कुराकानी गरे । अर्को प्रतिपक्षी दल कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेट्ने उनकाे तयारी छ ।
एक साता अघिसम्म शान्त देखिएका शेखरले एकाएक राजनीतिक भेटघाट बढाउनुलाई कतिपयले सम्भावित सत्ता परिवर्तनको खेलसँग जोडेर हेरेका छन् । उनी स्वयंले ओली सरकार असफल भएको निष्कर्ष निकालिसकेकाले पनि समीकरण फेरबदलको प्रयास हुनसक्ने अनुमान गरिएको हो । यसबारे जिज्ञासा राख्दा शेखरले सरकार गलत बाटोमा अघि बढेको र त्यसलाई खबरदारी गर्नु आफ्नी कर्तव्य भएको बताए । उनले खुलेर नभने पनि यसको अर्थ प्रचण्ड र विद्यालाइ भेट्नुको अन्तर्य सरकारलाई खबरदारी गर्नु हो ।
दुई ठूला पार्टी मिलेर बनेको सरकारले अपेक्षाकृत काम गण नसक्दा आमरूपमा चरम निराशा छ । जसका कारण सडकदेखि संसदसम्म व्यवस्थाविरोधी शक्तिहरू हावी भैरहेका छन् । यसलाई स्वीकार गर्दै शेखरले सरकारका कारण समाजमा बढेको निराशालाई चिर्न जरुरी रहेको र त्यसका लागि राजनीतिक भेटघाट अघि बढाएको बताए ।
‘भेटघाटको अन्तर्य के हो ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले सरकारलाई खबरदारी गर्नको लागि छलफल आवश्यक रहेको र त्यसैको लागि भेटेको प्रष्ट पारे ।
‘नेताहरुबीच समय-समयमा भेटघाट हुनु, कुराकानी हुनु सामान्य र स्वभाविक हाे, विदेशमा पनि विभिन्न दलक नेताहरु एक आपसमा भेटेर समसामायिक विषयमा छलफल गरिरहन्छन्’, शेखरले भने, ‘तर पछिल्लो भेटको मुख्य उद्धेश्य भनेको वर्तमान सरकारलाई ट्रयाकमा ल्याउनकाे लागि हो, यो सरकारले जुन बाटो हिँड्नुपर्थ्याे, त्यो बाटो हिँड्न सकेन, यसलाई सही बाटोमा ल्याउनुपर्यो भनेर छलफल अघि बढाएका हौँ ।’
सरकारले भ्रष्टाचारी र विचौलियालाई संरक्षण गरेको तर राम्रो काम गर्नेलाई निरुत्साहित पारेको उनको गुनासो छ । ‘यो सरकार साँचै सुशासनको पक्षमा हुन्थ्यो भने मन्त्रीहरुले घुस डिल गरेको अडियो सार्वजनिक हुनेबित्तिकै एक्शन लिनुपर्थ्याे, तर त्यो भयो त ? जनताले राम्ररी देखेकै छन्’, कडा हुँदै शेखरले भने, ‘स-सानामा विषयमा पनि विपक्षीलाई छानी छानी मुद्दा लगाएको छ, अनि मुद्दा लगाउनुपर्नेलाई चाहिँ संरक्षण दिएको छ, यहि हाे त सुशासन ?’
प्रतिपक्षीको हैसियतले सशंक्त ढंगले अघि बढ्न आफूले प्रचण्डलाई आग्रह गरेको पनि शेखरले जानकारी दिएका छन् । ‘उहाँहरु प्रतिपक्षीमा हुनुहुन्छ, हामीले पार्टीभित्र आफ्नै तरिकाले खबरदारी गरेका हुन्छौ, तर प्रतिपक्षीको भूमिकाबाट खबरदारी भएपछि त्यो बढी प्रभावकारी हुन्छ’, उनले भने ।
त्यस्तै, पूर्व राष्ट्रपति भण्डारीले पनि सरकारप्रति असन्तुष्टि जनाएको शेखरले सुनाए । भेटवार्ताका विषय खुलाउँदै भने, ‘उहाँ (भण्डारी)पनि अहिलेको सरकारको काम देखेर पटक्कै खुशी हुनुहुन्न । कसरी सरकारलाई सही मार्गमा ल्याउने त, त्यसबारे छलफल भयो । त्यसबाहेक उहाँले किन राजनीतिमा फर्किनुभयो, त्याेबारे पनि आफ्नो कुरा राख्नुभयो, सरकारको गलत काममा एकजुट भएर खबरदारी गर्ने कुरा भएको छ ।’
यता, कोइराला र प्रचण्डबीचकाे भेटमा सहभागी भएका स्वतन्त्र सांसद अमेरशकुमार सिंहले भने नयाँ ध्रुवीकरण शुरु भएको दाबी गरेका छन् । खुमलटार वार्ताबारे विभिन्न मिडियासँग कुराकानी गर्दै उनले ‘वाम लोकतान्त्रिक मोर्चा’ गठनसम्मको चर्चा चलाएका छन् । कतिसम्म भने शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनेगरी वैकल्पिक गठबन्धन बनाउन प्रचण्ड सहमत भएको उनको दाबी छ ।
नेता शेखरले भने अमरेशको भनाइको खण्डन गर्दै मोर्चा गठन र आफू प्रधानमन्त्री हुनेबारे कुरै नभएको बताए । ‘हिजो खुमलटारमा उहाँ (सिंह) पनि हुनुहुन्थ्यो, आज (भंगाल) चाहिँ होइन’, उनले भने, ‘उहाँलाई लागेको प्रतिक्रिया दिनुभएको होला, तर मोर्चा नै बनाउने कुरा भएको छैन, नैतिक हिसाबले म सत्तापक्षमा छु, प्रचण्डजी प्रतिपक्षमा हुनुहुन्छ, पूर्व राष्ट्रपतिज्यूको टुंगो छैन, त्यसैले अहिले मोर्चा होइन, सबै मिलेर सरकारलाई खबरदारी गरौँ, सही बाटोमा ल्याऔँ भनेको हो, यो सरकार नै काम नलाग्ने भयो क्या ! हामीले खबरदारी नगरे, कसले गर्ने त भनेर दायीत्वबोध भएको छ ।’
टिप्पणीहरू