लिङ्देनले कारवाहीको कोर्रा हानेपछि बहादुर भवनमा हारगुहार

लिङ्देनले कारवाहीको कोर्रा हानेपछि बहादुर भवनमा हारगुहार

आन्तरिक कलहमा फसेको पूर्व पञ्चहरुको पार्टी राप्रपामा किचलो बढ्दै जाँदा कारवाही र निषेधको क्रम तीब्र बनेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले असन्तुष्ट समूहका नेताको छानीछानी जिम्मेवारी खोसेपछि यस्तो अवस्था बनेको हो ।

यसबीच अस्ति निष्कासनको कारवाहीमा परेका उपाध्यक्ष मुकुन्द श्याम गिरीले निर्वाचन आयोग गुहारेका छन् । पार्टी नेतृत्वले विधानविपरित आफूलाई पदमुक्त गरेको दु:खेसो पोख्दै बहादुर भवनस्थित आयोग कार्यालयमा उजुर गर्न पुगेका उनले पद थमौतीका लागि हारगुहार गरेका हुन् ।

उजुरीमा उनले आफूमाथिको कारवाही बदर गर्न आग्रह गरेका छन् । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शुक्रबार गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको पदबाट हटाएका थिए ।

उनीमाथि पार्टी हितविपरित काम गरेको आरोप थोपरिएको छ । गिरीलाई साथ दिन महामन्त्री धवलशमशेर राणा पनि आयोगको कार्यालय पुगेका छन् ।

लिङ्देनले यसअघि 'राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदीलाई केन्द्रीय अनुशासन आयोगको अध्यक्ष र सगुन शमशेर जबरालाई प्रवक्ताबाट हटाएका थिए । यी दुई भाइले पनि निर्वाचन आयोग गुहारिसकेका छन् । 

राजा फर्काउने अभियानमा रहेको राप्रपामा यो प्रकरणपछि आन्तरिक किचलो थप चर्किएको छ । लिङ्देनले पुराना नेताहरुलाई 'बाइपास' गरेर पार्टी सन्चालनमा एकलौटी गरेको भन्दै शुरुदेखि नै असन्तुष्ट नेताहरु अब 'वारपार' को लडाई लड्ने तयारीमा छन् ।
तस्बिरहरुः

टिप्पणीहरू