विश्व हिन्दु महासंघमा ‘दरवारीया प्रतिगामी तत्व’ छिरेपछि बेमेल

विश्व हिन्दु महासंघमा ‘दरवारीया प्रतिगामी तत्व’ छिरेपछि बेमेल

राजसंस्थाप्रतिको दृष्टिकोणलाई लिएर दुई फ्याकमा विभाजित रहँदै आएको विश्व हिन्दु महासंघमा आन्तरिक कलह थप चर्किएको छ । 

दरबारको कुरालाई लिएर उत्पन्न विवाद आरोप-प्रत्यारोप हुँदै कारवाहीको तहमा पुगेपछि धार्मिक संस्थाभित्र 'अधर्म' मच्चिएको हो । अहिले महासंघमा अध्यक्ष डा. रामचन्द्र अधिकारी र प्रदेश अध्यक्षसमेत रहेका केन्द्रीय उपाध्यक्ष राजप्रसाद जोशी समूहबीच गुटबन्दी छ । 

जोशी समूहले राजसंस्थाको पक्षपोषण गरिरहेको छ भने अध्यक्ष अधिकारी त्यसको विरुद्धमा छन् । यहि विवादका कारण दुबै समूह एकले अर्कालाई निशेष गर्नेगरी अगाडि बढेपछि महासंघ फूटको संघारमा पुगेको बताउन थालिएको छ । 

यसैबीच अध्यक्ष अधिकारीले लोकतन्त्र विरोधी प्रतिगामी दरवारीया तत्वको मतियार बनेर संस्थाको नीति विपरीत गतिविधि गर्दै हिँडेको भन्दै जोशी हटाउने तयारी गरेका छन् । त्यसअघि एकहप्ते स्पष्टिकरण सोध्दै उनले संस्थाको कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएका छन् । 

महासंघको विधि विधानविपरित निराधार आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत अध्यक्षको चरित्रहत्या गरेको जोशीमाथि आरोप छ । 

'विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश प्रमुखसमेत रहेका राजप्रसाद जोशीले लोकतन्त्र विरोधी प्रतिगामी दरवारीया तत्वको मतियार बनेर संस्थाको केन्द्रीय नीति निर्देशन उल्लङ्घन गर्दै लगातार विधान विपरित संस्था र संस्थाका अध्यक्षविरुद्ध निराधार आरोप लगाई समाजिक सञ्जालमा संस्थागत मर्यादा र अनुशानसन भंग गर्दै अध्यक्षको चरित्र हत्या गर्ने नियतले हदभन्दा बढी अराजक गालि गलौज गर्दै हिंडेकाले ७ दिनभित्र जवाफ दिनेगरी स्पष्टिकरण सोधी पठाईएको छ', महासंघले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।  

स्पष्टिकरणमार्फत निलम्बनको प्रक्रिया अघि बढेकाले सफाई पाएर पद बहाली नभएसम्म कुनै पनि संस्थागत गतिविधिमा संलग्न नहुन जोशीलाई कडा निर्देशन दिइएको छ । साउन १५ गते बोलाएको महासंघको सुदूरपश्चिम प्रदेश बैठक स्थगित गर्न भनिएको छ । 

अध्यक्ष अधिकारीले उक्त बैठक अवैध ठहर्ने भएकाले सदस्यहरुलाई उपस्थित नहुन आग्रह गरेका छन् । त्यस्तै, आफ्नो जिम्मामा रहेका नगद जिन्सीको हिसाब पेश गर्न जोशीलाई केन्द्रीय कार्यालय काठमाडौँमा हाजिर हुन उनको निर्देशन छ । 

जोशी पक्षधरहरूले भने स्पष्टिकरण नमान्ने चेतावनी दिएका छन् । अध्यक्ष अधिकारीमाथि कांग्रेस र कम्युनिस्टको कलो खाएर धर्मको व्यापार गरेको आरोप उनीहरुको छ ।

यसअघि नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति’ ले आयोजना गरेको आन्दोलनमा सहभागिताको विषयलाई लिएर पनि महासंघमा विवाद चर्किएको थियो । बहुमत पदाधिकारीले आन्दोलनमा जान नहुने पक्षमा उभिएका थिए । हिन्दु राष्ट्र कायम गर्न नभई कसैलाई श्रीपेच लगाइदिनका लागि गरिने कुनै पनि आन्दोलनमा जानुको अर्थ नरहने एक पदाधिकारीले प्रष्ट्याएका थिए । 

राप्रपालगायत राजावादी संघ संस्था र त्यसका नेताले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि मात्रै हिन्दु अधिराज्य घोषणाको नारा भजाइरहेको महासंघका पदाधिकारीहरूले टिप्पणी गर्दै आएका छन् ।

टिप्पणीहरू