वित्त आयोगविरुद्धको उजुरीमा आइतबार छलफल

वित्त आयोगविरुद्धको उजुरीमा आइतबार छलफल

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीविरुद्ध परेको उजुरीमाथि छलफल हुने भएको छ । नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले नेतृत्व गरेको अर्थ समितिको ८४ औं बैठकमा आयोगसँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने कार्यसूची छ । 

आउँदो आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय भवन नम्बर १ को हल नम्बर ४०२ मा बैठक बस्ने जनाउँदै समितिले सदस्यहरुलाई उपस्थित हुन निर्देशन दिएको छ । 

बैठकमा आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए–नभएको अवस्था, आयोगको वार्षिक बजेट तथा कार्यक्रम, संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती, आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ । 

आयोगमा भएको अनियमितता र पदाधिकारीको मनोमानीविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक केन्द्रीय सदस्यले दुई महिनाअगाडि प्रतिनिधि सभाको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी हालेका थिए । आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै सुशासन समितिले सो उजुरी अर्थमा पठाइदियो । 

अर्थले भने उजुरी दर्ता गर्न आलटाल गर्दै आएको थियो । उजुरी दर्ता गर्न उदासीनता देखाएर आफ्नो जिम्मेवारीबाट भागेको भन्दै चर्को विरोध भएपछि अर्थले गत जेठ १९ गते दर्ता गरेको हो । बल्लतल्ल उजुरी दर्ता गरेपनि अर्थले सोउपर छलफलका लागि बैठकमा पेश गरेको थिएन । 

मुलुकको प्रमुख संवैधानिक निकायमध्येको एक वित्त आयोग बेतिथिको थलो बनेको छ । अनुदान बाँडफाँड, सवारी कर बाँडफाँड, रोयल्टी संकलन र बाँडफाँडलगायत अर्थसम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने आयोग गठन भएदेखि नै कुशासनको बाटोमा हिँडेको आरोप छ । आयोगबाट सम्पादित अधिकांश काम अपारदर्शी र प्रश्न उठाउनुपर्ने खालको छ ।


 

टिप्पणीहरू