कांग्रेस बैठक उपचुनावमा केन्द्रित

कांग्रेस बैठक उपचुनावमा केन्द्रित

नेपाली कांग्रेसले आगामी कात्तिक १७ गते हुने रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे औपचारिक छलफल शुरु गरेको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजि निवासमा आज बिहान बसेको पदाधिकारी बैठक उपचुनावमा केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । बैठकमा रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत राखिएको थियो ।

बैठकमा बालकृष्ण खाँण पनि सहभागी थिए । नक्कली भुटानी शरणार्थी काण्डमा केही समय जेल परेर धरौटीमा छुटेका उनी २०७९ सालमा भएको निर्वाचनमा रुपन्देही-३ बाट उम्मेदवार थिए । उपचुनावमा पनि खाँणलाई नै उठाउने चर्चा चलिरहेको छ।

‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना क-कसको हुन्छ अहिले भन्न सकिँदैन', केसीले भने, ‘उहाँ (खाँण) को पनि हुनसक्ला । तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ ।’ तर, खाँणको मुद्दा विचाराधीन रहेकाले उनलाई उम्मेदवार बनाउनु हुँदैन भन्ने मत पनि छ कांग्रेसमा ।  

०७९ को चुनावमा यहाँ राप्रपाका दीपक बोहोराले जितेका थिए । उनको निधन भएपछि निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि उपचुनाव मिति तय गरेको हो ।

टिप्पणीहरू