घुस काण्डले नाउपामा ‘घमासान’, रञ्जिता खोज्दै रेशम

घुस काण्डले नाउपामा ‘घमासान’, रञ्जिता खोज्दै रेशम

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग जिम्मेवारीबाट पन्छिने सुविधा नभएको भन्दै बैठकमा आएर स्पष्टिकरण दिन भनेका छन् । 

पोखराको बाटुलेचौरस्थित लिची बारी जग्गा प्रकरणमा पूर्व भूमिमन्त्रीसमेत रहेकी श्रेष्ठको संलग्नता प्रमाणित हुने तथ्यहरु सार्वजनिक भएपछि चौधरीले केन्द्रीय समितिको बैठकमा उपस्थित भएर स्पष्ट पार्न आग्रह गरेका हुन् । रेशमले रञ्जिताकै कारण पार्टीमा अर्को संकट शुरु भएकाले समाधान पनि उनैले दिनुपर्ने बताए । 

‘अहिले जे जस्ता परिस्थिति सिर्जना हुँदै गएका छन्, त्यो तपाई (रञ्जिता)कै कारण हो, हाम्रो कारण होइन’, उनले भिडियो सन्देशमा भनेका छन्, ‘तपाईले सिर्जना गरेको स्थितिबारे स्पष्ट हुन साथीहरुले तपाईलाई सम्पर्क गर्ने गरिराखेकै छन्, तपाई केन्द्रीय समितिको बैठकमा आउनुपर्छ, विषय स्पष्ट पार्नुपर्छ ।’

आफूमाथि गम्भीर आरोप लाग्दासमेत रञ्जिता चुप बस्नुले कार्यकर्तामा अन्यौलता छाएको रेशमको भनाइ छ । व्यक्तिको कारण पार्टीलाई बन्धक बनाउन नमिल्ने उनको प्रष्ट धारणा छ । 

‘हाम्रो पार्टी अध्यक्षलाई मुद्दा लाग्यो, खै त जवाफ ? कार्यकर्ता र जनता अन्यौलमा छन्, बैठकमा आएर स्पष्ट पार्नुस्’, रेशमले भनेका छन्, ‘तपाईले यो समस्याको निराकरण गर्नुपर्छ, एउटा निकास दिनुपर्छ, पार्टी बन्धक र निरकुंश बनाउँन पाइदैंन।’

पार्टीका नेताहरुले जति फोन गर्दा पनि रञ्जिताले नउठाएको र जानीजानी सम्पर्कविहीन भएको दुखेसो पनि उनले पोखे । यसबारे प्रतिक्रिया लिन जनआस्थाले रञ्जितालाई पटक-पटक फोन गर्दा सम्पर्क हुन सकेन ।

उता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिताको आवाज परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ । उनले बुधबार टंगाल पुगेर करिब तीन घण्टा बयान दिएकी थिइन् । 

यस प्रकरणमा मुछिएका तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् । अर्का आरोपित भूमिमन्त्री बलराम अधिकारीले सार्वजनिक रुपमै खण्डन गर्दा रञ्जिताले भने मुख खोलेकी छैनन् ।

 

टिप्पणीहरू