भ्रष्टाचारीको मुख नहेर्ने नाराप्रति एमाले संसदको कटाक्ष
‘भ्रष्टाचारीको मुख हेर्दिन’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँकै पार्टीका नेताले कटाक्ष गरेका छन् ।
घुस काण्डमा मुछिएका मन्त्रीलाई उन्मुक्ति दिइएको सन्दर्भमा सांसद किरणकुमार साहले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने सरकार कहाँ छ ? भन्दै प्रश्न गरेका हुन् । घुस डिल प्रकरणमा जोडिएका भूमिमन्त्री बलराम अधिकारीलाई अहिलेसम्म पदबाट नहटाएकोमा उनले आक्रोश व्यक्त गरे ।
पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुस लिएको आरोप लागेका मन्त्रीहरु अझै किन पदमा छन् ? आज प्रतिनिधिसभा बैठकमा उनले आफ्नै अध्यक्ष नेतृत्वको सरकारलाई प्रश्न गरे । भिजिट भिसा दुरुपयोग र मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई पनि सरकारले नै संरक्षण गरेको दाबी साहको छ ।
‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन । सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु–भिजिट भिसा प्रकरणमा कास्कीको लेखनाथ लिची बगैंचामा मुछिएकाहरु किन अझै पदमा छन् ?’, उनले भने, ‘मानव बेचबिखनमा मुछिएकाहरुको किन सम्मानसहित स्वागत गरिन्छ । यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो ।’
टिप्पणीहरू