'मदन भण्डारीबाट सदस्यता लिएको हुँ, कसैले चाहँदैमा फाल्न सक्दैन'

'मदन भण्डारीबाट सदस्यता लिएको हुँ, कसैले चाहँदैमा फाल्न सक्दैन'

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भैसकेकाले कसैले चाहेर फाल्न नसक्ने बताउनुभएको छ । 

एमाले केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।  

'अहिले पार्टी सदस्यको कुरा हो । पार्टी सदस्य भएकै ४५ वर्ष भइसक्यो । मदन भण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा सदस्यता लिएको हुँ । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन', भण्डारीले प्रष्टताका साथ भन्नुभयो ।

पार्टी सदस्यता लिएको ३४ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष पुगेको उहाँले जानकारी दिनुभयो । एमाले बैठकलाई लक्षित गर्दै भण्डारीले कसैको पनि संवैधानिक अधिकार र स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजिनुले प्रतिशोध प्रमाणित हुने बताउनुभयो । 

‘राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएको केही महिनामै मेरो सदस्य नविकरण भइसकेको कारण यसलाई विवादमा ल्याउनुपर्ने कुनै कारण थिएन’, उहाँले भन्नुभयो, ‘कसैले संवैधानिक अधिकार र मेरो स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयास गर्छ भने त्यसले पार्टीलाई नै क्षति पुर्याउनेछ,आवेगमा गरिएको निर्णयले प्रतिशोध देखाएकाे छ।’

मुलुकको सर्वोच्च पदमा पुगिसकेकोले अब कुनै पदको लोभ-लालच नरहेको पनि भण्डारीले स्पष्ट पार्नुभयो ।

‘आस्थाकाे अधिकार र राजनीतिक अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ, मैले मुलुकको सर्वोच्च पदमा पुगेर आफ्नो नाम इतिहासमा दर्ज गरिसकेको हुनाले अब मलाई कुनै लोभ छैन, मलाई पार्टीबाट बञ्चित गर्नुपर्ने कारण केही कारण छैन’, उहाँले थप्नुभयाे । 

पूर्व राष्ट्रपति भण्डारीले घुमाउरो भाषामा आफ्नो पक्षमा एकताबद्ध हुन देशभरका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गर्नुभएको छ । 

‘हजारौँ, लाखौँ जनताको रगत, पसिना र त्यागबाट बनेको पार्टी हो याे, त्यसैले जबजले अगाडि सारेका पार्टी निर्माणका अवधारणहरुलाई निष्ठापूर्वक रक्षा गर्न म देशभरका एमाले साथीहरुलाई आह्वान गर्दछु, मेरो यो आग्रह र संकल्प अन्तरआत्माको आवाज हो’, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।   

पार्टी सदस्य नै नरहेपछि कसरी अघि बढ्नुहुन्छ त ? भनेर सोधिएको प्रश्नमा भण्डारीले स्पष्ट पार्नुभयो, ‘जबजकै मूल्य र मान्यतालाई आत्मसात गरेर यहाँसम्म आएको हुँ, म अहिले पनि एमाले नै हुँ, रहिरहनेछु, कसैले चाहेर हटाउन सक्दैन ।’

 

टिप्पणीहरू