विद्या भण्डारीको संक्षिप्त सम्बोधनका अर्थपूर्ण सन्देश

विद्या भण्डारीको संक्षिप्त सम्बोधनका अर्थपूर्ण सन्देश

गत मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज गर्दै राजनीतिमा फर्किने बाटो बन्द गरिदियो । दुई पटक देशको राष्ट्रपति भैसकेको,पार्टीको पूर्व उपाध्यक्ष अनि मदन भण्डारीको जीवन संगिनीलाई राजनीतिक प्रतिवन्ध लगाउने यो निर्णय सामान्य थिएन । 

यसले एमाले र वामपन्थी आन्दोलनलाई दीर्घकालीन रुपमा पार्ने प्रभावको लेखाजोखा हुनै बाँकी छ । तर,तात्कालिन हिसाबले राष्ट्रिय राजनीतिमा पैदा भएको तरंग अझै सेलाएको छैन । पक्ष-विपक्षमा तर्क-वितर्क र बहस भैरहेका छन् । 

यसबीच हिजो अपराह्न एकाएक पूर्व राष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरी यसबारे धारणा राख्न लागेको खबर सार्वजनिक भयो । कम्युनिष्ट पार्टीमा सदस्यता प्राप्ति र खारेजीको विषय सामान्य मानिंदैन । त्यसकारण पत्रकार सम्मेलनमार्फत पूर्व राष्ट्रपतिबाट केही विशेष घोषणा हुनसक्ने आनुमान गरिए । एकथरीले त नेकपा एमाले (लोकतान्त्रिक) नामक छुट्टै दल घोषणा हुने हल्लासमेत चलाउन भ्याइसकेका थिए । 

तर,पूर्व राष्ट्रपति भण्डारी पत्रकार सम्मेलनमा त्यसरी प्रस्तुत हुनुभएन । आफ्नो पार्टी सदस्यता खारेज गर्ने निर्णयको शालीन प्रतिवाद गर्नुभएको छ । जननेता मदन भण्डारीको ठूलो फोटो र सूर्य चिन्हअंकित झण्डासहितको ब्यानरमुनी उभिएर  दुई पृष्ठ लामो लिखित वक्तव्य पढ्दै गर्दा उहाँमा उत्तेजना र आक्रोश देखिंदैनथ्यो । एमाले पूर्व उपाध्यक्षका हैसियतमा धैर्यतापूर्वक आफ्ना कुरा राख्नुभयो । उहाँको प्रस्तुति र शैली शालीन भए पनि दिन खोजेको सन्देश भने अर्थपूर्ण छ । 

एमालेमा आफ्नो संलग्नता र सदस्यता नवीकरणको विषयलाई लिएर सञ्चार जगत र आम रुपमा चासो रहेकाले स्पष्ट पार्नु आफ्नो कर्तव्य हुने भन्दै भण्डारीले शुरुमा पत्रकार सम्मेलन आयोजना गर्नुको उद्धेश्य प्रस्ट्याउनु भयो । मुख्य विषयमा प्रवेश गर्नुअघि भन्नुभयो, 'मुलुकको एक जिम्मेवार नागरिक हुनुको नाताले मेराबारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु ।'

त्यसपछि राष्ट्रपतिबाट अवकासपछि सामाजिक,आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा चिन्तन मननमा लागेको र पार्टीमा फर्कने वा नफर्कने विषय उपयुक्त समयमा निर्णय गर्ने बताउँदै आएको स्मरण गर्नुभयो । र, पार्टीमा आबद्ध हुने योजनाअनुरुप विधिपूर्वक सदस्यता नवीकरण गराएको सुनाउनुभयो ।

'राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक,आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन-मनन् गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने/नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गर्दै आएको थिएँ', पूर्व राष्ट्रपतिले खुलाउनुभयो, 'जब म पार्टीमा आबद्ध बनेर नै अगाडि बढ्ने टुङ्गोमा पुगें,तब पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरें ।'

त्यसक्रममा उहाँले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहमै राजनीतिमा फर्किने निर्णयमा पुगेको र सदस्यताको विषयमा केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन च्यासलमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको दाबी पनि गर्नुभयो । आफूलाई जानकारी नै नगराई सदस्यता नवीकरण गरेको भन्ने ओली र शंकर पोखरेलहरुको दावीलाई यसले खण्डित गरेको छ ।  

सबै प्रक्रिया पुर्याएर नवीकरण गरिसकेको सदस्यताबारे अनावश्यक विवाद झिकिएको भन्दै भण्डारीले चित्त दुखाउनुभएको छ । 'वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन',उहाँको दुखेसो छ । 

संगसंगै उहाँले  ४५ वर्षअघि जननेता मदन भण्डारीबाट प्राप्त गरेको सदस्यता कसैले चाहँदैमा खोस्न नसक्ने भन्दै घुमाउरो चेतावनी पनि दिनुभएको छ । पार्टी सदस्यता लिएको ३४ वर्षमा राष्ट्रपति बनेको र अहिले ४५ वर्ष पुगेको जानकारी दिँदै भण्डारीले राजनीतिमा फर्किने योजनामा दृढ रहेको सन्देश फेरि दिनुभएको छ । 

केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले मध्यराति १२ बजे भण्डारीको सदस्यता खोसेको निर्णय सुनाउँदा केही नेताले आपत्ति जनाएका थिए । अध्यक्षका समर्थकहरूले होहल्ला गरेपछि कोलाहलपूर्ण वातावरणमा बैठक समापन गरिएको थियो । यसलाई पूर्व राष्ट्रपतिले आवेगमा गरिएको प्रतिशोधपूर्ण निर्णय भन्नुभएको छ ।  

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता खोस्ने निर्णय राजनीतिक हिसाबले मात्र नभई संवैधानिक दृष्टिले पनि त्रुटिपूर्ण रहेको दाबी गर्नुभएको छ । दलीय आस्था र राजनीतिक अधिकारलाई संविधानले नै मौलिक हकको रुपमा प्रत्याभूत गरेकाले सदस्यताबाट बन्चित गर्न नपाइने उहाँको भनाइ छ । 

उहाँले  ४५ वर्षअघि जननेता मदन भण्डारीबाट प्राप्त गरेको सदस्यता कसैले चाहँदैमा खोस्न नसक्ने भन्दै घुमाउरो चेतावनी पनि दिनुभएको छ । 

'नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । संविधानका विभिन्न धारा,मर्म र भावना कहीं कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन', उहाँ भन्नुहुन्छ, 'यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन ।'

'नेपालको संविधान,ऐन कानुन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने आफ्नो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ', उहाँको थप टिप्पणी छ । 

मुलुकको सर्वोच्च पदमा पुगिसकेकोले अब कुनै पदको लोभ-लालच नरहेको पनि भण्डारीले स्पष्ट पार्नुभएको छ । आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र उक्त पदको जिम्मेवारी पूरा गरेर पुन: पार्टीमा आबद्ध भई देश र जनताको सेवा गर्ने सङ्कल्प गर्न चाहनुलाई अनौठो र आश्चर्य मान्न नहुने बताउनुभयो ।

‘मैले मुलुकको सर्वोच्च पदमा पुगेर आफ्नो नाम इतिहासमा दर्ज गरिसकेको हुनाले अब मलाई कुनै लोभ छैन,मलाई पार्टीबाट बञ्चित गर्नुपर्ने कारण केही कारण छैन’, पूर्व राष्ट्रपतिको भनाइ छ ।  

अन्तिममा भण्डारीले जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न एमाले पङ्क्तिलाई अपिल गर्नुभएको छ । निर्धक्क,ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै संगठन निर्माणमा सक्रिय हुन उहाँको विशेष  आव्हान छ ।

टिप्पणीहरू