अख्तियार प्रमुखलाई कारवाही गर्न अख्तियारमा उजुरी

अख्तियार प्रमुखलाई कारवाही गर्न अख्तियारमा उजुरी

सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएपछि एकाएक चर्चामा आएका र आफूलाई चित्त नबुझेका विषयमा उजुरी हाल्दै हिँड्ने सिन्धुलीका युवराज सफल अख्तियार प्रमुख प्रेमकुमार राईलाई कारवाही गराउन कस्सिएका छन् ।

नेपाल सरकारको सचिव पदमा कार्यरत रहँदा राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको जिकिर गर्दै अख्तियार गुहारेका युवराज कारवाही गराउन तम्सिएका हुन् । उनले आज राईमाथि अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएका छन् । 

वाइडबडी विमान खरिदमा भएको आर्थिक अनियमितता सम्बन्धी मुद्दाको अभियोजनकर्ता अख्तियारमाथि नै प्रश्न उठेको छ र राई विवादमा परेका छन् । विशेष अदालतले गरेको उक्त मुद्दाको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा अख्तियार प्रमुख राई (तत्कालीन सचिव) नेतृत्वको समितिले नै विमान खरिदको निर्णय गरेको तर उनलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठाइएकाले विवादमा तानिएका छन् । यसैबीच युवराज उजुरी लिएर आज अख्तियार पुगेका हुन् । 

'मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ', विशेष अदालतको फैसला उदृत गर्दै उजुरीमा भनिएको छ, 'त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ, यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ । 

अदालतको फैसलाले वाइडबडी जहाज खरिद प्रक्रियामा राईको संलग्नता ठहर भएको उल्लेख गर्दै उजुरीमा पूरक अभियिजन दायर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ । 

 त्यस्तै, अख्तियार प्रमुख राई आपूर्ति सचिव भएका बेला आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको उजुरकर्ताको दाबी छ । निगमले भैरहवा, चितवन, सर्लाही, झापालगायतका जिल्लामा डेढ अर्ब भन्दा बढी मूल्यको जग्गा किन्दा करोडौँ घोटाला भएको र तत्कालीन संचालक समितिका अध्यक्ष राई त्यसमा संलग्न रहेको युवराजको जिकिर छ ।  

'राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन सर्लाही, झापा लगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो । उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेम कुमार राई नै थिए । अतः सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि मुद्दा चलाइएपनि जग्गा खरिद गर्ने निर्णय गर्ने प्रेम कुमार राईमाथि भने कुनै मुद्दा समेत चलाइएन', सी-००३४९८ दर्ता नम्बर रहेको उजुरी पत्रमा भनिएको छ, 'कोरोना महामारीको बेलामा प्रेम कुमार राई जोडिएको आयल निगम जग्गा प्रकरण सम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको छ । अतः तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखेको मुद्दा जगाई निज विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न प्रस्तुत उजुरी पेस गरेको छु ।'

टिप्पणीहरू