रविबारे प्रधानमन्त्रीको निश्कर्ष : ठगी गरेपछि अदालतले थुन्छ, के को प्रतिशोध ?

रविबारे प्रधानमन्त्रीको निश्कर्ष : ठगी गरेपछि अदालतले थुन्छ, के को प्रतिशोध ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नुभएको छ । 

आफ्ना सभापतिमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति लक्षित गर्दै प्रमले यस्तो प्रतिक्रिया दिनुभएको हो । रविलाई आफैँले राजनीतिमा ल्याएर उपप्रधानमन्त्रीसम्म बनाएको भए पनि अहिले रास्वपाका कार्यकर्ता आफूमाथि खनिएको भन्दै उहाँले चित्त पनि दुखाउनुभयो । 

‘कसैले अपराध गरेमा थुन्ने कि नथुन्ने भन्ने कुरा अदालतको हो, सरकारको होइन’, धनगढीमा आयोजित एक कार्यक्रममा प्रम ओलीले भन्नुभयो, ‘उनलाई अदालतले थुन्यो, सरकारले होइन । तर अहिले उनका समर्थकहरू मलाई नै गाली गर्छन् । उनलाई मैले नै राजनीतिमा ल्याएर गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत बनाएको थिएँ ।’
रविमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको उहाँको दाबी छ । ‘ठगी गरेपछि अदालतले थुन्छ त, गर्ने बेलामा नचाहिने काम गर्ने, गर्ने बेलामा आँखा नदेख्ने, अनि पछि लौ प्रतिशोध, के को प्रतिशोध ?’, आक्रोशित हुँदै प्रम ओलीले सोध्नुभयो ।

रविविरुद्ध अदालतले गरेको आदेशलाई लिएर रास्वपाले गरिरहेको हस्ताक्षर अभियानप्रति पनि उहाँले आपत्ति प्रकट गर्नुभयो । ‘मलाई डर लाग्या छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरुलाई सचेत गराउन चाहन्छु’, कटाक्ष गर्दै भन्नुभयो, ‘हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला ।’

टिप्पणीहरू