चुनाव जितेर क-कसले देश छाडे ?

चुनाव जितेर क-कसले देश छाडे ?

०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले कास्कीबाट उल्लेखनीय नतिजा ल्याउन सकेन । पोखरा महानगरसहित पाँच वटा स्थानीय तह रहेको कास्कीमा माओवादीले मात्र ३ वटा वडा जितेको छ । त्यसमध्येका हुन् मादी गाउँपालिका-१२ का वडाध्यक्ष कृष्णराज दाहाल । 

कास्कीमा माओवादीलाई निल हुनबाट जोगाएका यिनै दाहाल एक वर्षदेखि विदेशमा छन् । श्रीमतीलाई डिभी परेपछि गत वर्ष असारमा अमेरिका उडेका थिए । एक साताका लागि भन्दै महिला सदस्य लक्ष्मी गिरीलाई कार्यवाहक दिएर गएका उनी न फर्केर आए,न राजीनामा नै दिए । 

धादिङको नेत्रावती डबजोङ गाउँपालिका- ४ का वडाध्यक्ष तिलबहादुर गुरुङ पनि एक वर्षदेखि अमेरिकामा छन् । आफैँलाई डिभी-चिट्टा परेपछि सपरिवार अमेरिका उडेका उनको पनि त्यसयता अत्तोपत्तो छैन । 

चुनाव लड्दा करिब ५० लाख ऋण लागेको र वडाध्यक्षको तलबले तिर्न नसक्ने भएपछि विदेसिनुको अर्को उपाय नभएको परिवारका सदस्यले त्यतिबेलै बताएका थिए ।

८ जुलाई २०२४ मा उनलाई पालिका अध्यक्ष मेघनाथ रिजालले एअरपोर्टमा बिदाइ गरेका थिए । छोटो समयका लागि भन्दै वडा सदस्य बाबुराम गुरुङलाई कार्यवाहक सुम्पिएर हिँडेका गुरुङ त्यसयता उतै रमाइरहेका छन् । एमालेबाट चुनाव जितेका उनले पनि अहिलेसम्म राजीनामा दिएर बाटो खुला गरिदिएका छैनन् । 

देशमा रोजगारी नहुँदा हरेक दिन सयौँको संख्यामा युवाहरू विदेश उडिरहेका छन् । एयरपोर्टमा दिनहुँ ठूलो संख्यामा भीड देखिन्छ । यसमा राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने भन्दै बहस हुन थालेको पनि वर्षौँ भैसक्यो । 

तर,देश बनाउने अठोट लिएर राजनीतिमा होमिएका युवा जनप्रतिनिधिहरू नै धमाधम विदेश पलायन हुनुले यस्ता बहस निरर्थक बनेको छ । दाहाल र गुरुङ त प्रतिनिधि उदाहरण मात्रै हुन्, रोजगारीको खोजीमा विदेश भासिने जनप्रतिनिधिको संख्या धेरै छ ।  

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिम दुई वर्षदेखि विदेशमै छन् । धन कमाउन सुटुक्क हङकङ उडेका उनी लामो समय गुपचुप रहे । वडा सदस्य अम्बी साउदेनलाई कार्यवाहक दिएर गएको भए पनि स्थानीयले निरन्तर प्रश्न उठाउन थालेपछि पद छोड्न बाध्य भए ।

गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानमार्फत जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै राजीनामा पठाएका थिए । बोखिम गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

दाङको राप्ती गाउँपालिका वडा नं ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ एक वर्षदेखि बेलायतमा छन् । वडासदस्य चम्फा पुनलाई कार्यवाहक सुम्पिएर विदेश भासिएका उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । 

एमालेबाट चुनाव जितेका गुरूङ आर्थिक अभाव देखाएर विदेश भासिएका हुन् । चुनाव लड्दा करिब ५० लाख ऋण लागेको र वडाध्यक्षको तलबले तिर्न नसक्ने भएपछि विदेसिनुको अर्को उपाय नभएको परिवारका सदस्यले त्यतिबेलै बताएका थिए ।

टिप्पणीहरू