रञ्जिताले पार्टी चलाउन नसक्ने रेशमको ठहर

रञ्जिताले पार्टी चलाउन नसक्ने रेशमको ठहर

पारिवारिक किचलोमा फस्दै आएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा कित्ताबन्दीको राजनीति थप चर्किएको छ । गुटगत विवाद चर्किंदै जाँदा संरक्षक रेशमलाल चौधरीले पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठबाट राजनीति सम्भव नभएको निष्कर्ष निकालेका छन् । 

काठमाडौँको मध्य बानेश्वरमा जारी राष्ट्रिय भेला परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रञ्जिताले पार्टी चलाउने नसक्ने दाबी गरेका हुन् । पार्टीले अब नयाँ नेतृत्व पाउने लगभग निश्चित भइसकेको रेशमको ठोकुवा छ । 

यद्यपि, अध्यक्ष को बन्ने भन्नेबारे छलफल चलिरहेको उनले खुलाए । ‘रञ्जिताजीलाई मैले हटाउन लागेको होइन, पार्टीले हटाउन लागेको हो, बहुमत नेताहरुले हटाउन लागेका हुन्’, रेशमले भने, ‘पार्टीको आफ्नै प्रजातान्त्रिक बाटो छ, त्यो बाटो हिँड्दा मेरो बच्चा राम्रो छ भनेर मात्र हुँदैन, त्यो बच्चा अनुशासन र काविल पनि हुनुपर्छ ।’

पार्टी स्थापनापछि हालसम्म भएका सबै आन्तरिक विवाद रञ्जिताकै कारणले निम्तिएको बताउँदै उनले सम्पूर्ण दोष श्रीमतीमाथि खन्याए ।

‘पार्टीभित्र आज जुन अवस्था आएको छ, त्यसको पछाडि को कति किन जिम्मेवार छ, त्यो स्पष्ट नै छ, उहाँ (रञ्जिता)ले राजनीति भनेकै गद्धी हो भन्ने बुझ्नुभयो’, रेशमले भने, ‘सिंहासनमा बसेपछि मान्छेलाई सेवा सुविधाको लत लाग्छ, त्यो लत फेरि खतरनाक हुन्छ, आफूबाट राजनीति सम्भव छैन भन्ने थाहा पाउँदा पाउँदै पनि पदको लोभ देखाउनु हुँदैन, हस्तान्तरण गर्नुपर्छ ।’

श्रीमतीलाई अध्यक्षबाट हटाउने कुरा गर्दै गर्दा उनले आफूसँग दु:ख व्यक्त गर्नुशिवाय अब कुनै विकल्प नरहेको पनि बताए । पार्टी घोषणा हुँदै गर्दा जेलमा बिताएको क्षण सम्झिदै बाघको कथासमेत सुनाए । 

‘के हुन्छ भने बाघले सबै मृग खादैन, कतिपय मृगले के गर्छन् भने बाघको साथी बनेपछि मलाई खाँदैन कि भनेर नजिक जान खोज्छन्, बाघकै वरिपरि घुम्छन् । तर, जब बाघले आफ्नो पञ्चा खुलाउँछ, त्यो मृग कप्लक्कै हुन्छ, यहाँ भएको पनि यहीँ हो, मृगले आफ्नो समूह नै खतरामा पार्यो’, रेशमले भने । 

स्मरण रहोस्, घुस काण्डमा मुछिएकी रञ्जिताले एकलौटीरुपमा राप्रपाबाट हालै पार्टी प्रवेश गरेका शिव बास्तोलालाई कार्यवाहक जिम्मेवारी दिएपछि नाउपामा बिबाद बल्झिएको हो । पार्टीको अनुशासन समितिले उनलाई निष्कासित गर्ने निर्णय गरिसकेकाे छ । 

समितिको उक्त निर्णय राष्ट्रिय भेलाबाट अनुमोदन भएपछि अध्यक्षबाट हटाइएको जानकारी निर्वाचन आयोगलाई गराउने नाउपाको तयारी छ ।

टिप्पणीहरू