बहुमतका दुई नेता बर्खास्त
धर्मेन्द्र बास्तोला 'कन्चन' नेतृत्वको नेकपा (बहुमत)ले दुई नेतालाई पार्टीबाट निकालेको छ । पोलिटब्युरो सदस्य पूर्णबहादुर विक 'रक्तिम' र केन्द्रीय सदस्य शरद रसाइली साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका हुन् ।
उनीहरुमाथि पार्टीभित्र गुटबन्दी गरेको र अनुशासनहीन काम गरेको आरोप छ । महासचिव बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र चरम प्रकारको गुटबन्दी, अराजकता र अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी विरोधी गतिविधि गरेकाले निजहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।’
प्रचण्ड नेतृत्वको तत्कालिन एकीकृत माओवादी विभाजन हुँदा मोहन वैद्यतिर लागेका बाँस्तोला गत डेढ वर्षदेखि नेकपा (बहुमत ) को महासचिव छन् । नेत्रविक्रम चन्द विप्लवसँग विद्रोह गरी आफ्नै नेतृत्वमा प्पापार्टी गठन गरेका उनी बिचमा केही समय बैद्यसँग मिलेका थिए ।
त्यहाँबाट फेरि छुट्टिएसँगै उक्त पार्टीमा आन्तरिक किचलो चर्किएको देखिन्छ ।
टिप्पणीहरू