वैकल्पिक उदय र पतनको बाटो
असार पहिलो साता प्रतिनिधिसभा बैठकमा बडो अनौठो दृश्य देखियो । नाराबाजी चलिरह्यो, बैठक चलिरह्यो । सामान्यतया अवरोधको अवस्थामा संसद नियमित कार्यसूचीमा प्रवेश नगर्ने अभ्यास हुन्छ । तर त्यस दिन त्यसो भएन । हुन त संसदलाई प्रतिपक्षीको भनिन्छ । सत्ताको बलमा यो अभ्यास बेलाबेलामा मिचिन्छ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र पनि गृहमन्त्रीको राजीनामा आउनुपर्ने पक्षमा थियो । तर सत्तारुढसँग दुई बुँदे सहमति भएपछि पेलेर बैठक अघि बढाउन सरकारलाई बल पुग्यो र संसद कार्यसूचीमा प्रवेश गर्यो ।
त्यसअघि गृहमन्त्री रमेश लेखकले जवाफ दिए । विषयगत जवाफ कम रास्वपा लक्ष्यित आरोपहरू बढी लगाए, रोष्ट्रमबाट धम्की दिए । पार्टी कार्यालयमा नक्कली पीडित खडा गरेर उजुरी दिइएको जिकिर गरे । हुन त पुराना दलहरू राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नमा माहिर छौं । उनीहरूले वर्षौंदेखि त्यही गरिरहेका छन् ।
नयाँ भनिएका दलहरू पनि त्यही बाटोमा हिँडिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा एमाले र कांग्रेसको सिको गरिरहेको छ । अर्थात कांग्रेस र एमालेले गर्नेसंसद अवरोध पछ्याएको छ । आफू अनुकूल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को धारणा राखिरहेको छ । कांग्रेस–एमाले पनि सरकार र विपक्षमा हुँदा यस्तै गर्थे । पुराना भनिएका दलप्रति नागरिकको चरम निराशा र अविश्वास भयो । अनि त नेपालको राजनीतिमा परम्परागत दलहरूको विकल्पको रूपमा उदाएका वैकल्पिक शक्तिले सुरुवाती चरणमा देश–विदेशबाट ठूलो समर्थन र अपेक्षा प्राप्त गरे । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरानका हर्कराज साम्पाङ, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सिके राउतको जनमत, रेशम चौधरीको नागरिक उन्मुक्ति र विगतमा रवीन्द्र मिश्रको साझा पार्टीले जनताको विश्वास र समर्थन प्राप्त गरेका उदाहरण हुन् । यिनीहरूले पुराना दलप्रति बढ्दो वितृष्णालाई उपयोग गर्दै वैकल्पिक राजनीतिको नारा लिएर उदाए ।
तर, समय बित्दै जाँदा यी शक्तिले प्रारम्भिक विश्वास कायम राख्न नसक्दा जनताको अपेक्षा र विश्वास डगमगाएको छ । वैकल्पिक राजनीति भनेर उदाएका दलहरू किन छोटो समयमै पाताल भास्सिने बाटोमा लागे त ?
वैकल्पिक शक्तिहरूको उदय
नेपालमा वैकल्पिक राजनीतिको रूपमा उदाएका दल र व्यक्तिहरूले जनताको वितृष्णा र परिवर्तनको चाहनालाई संबोधन गर्ने भनेका छन् । बालेन्द्र साह र हर्कराज साम्पाङः २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं र धरानमा निर्वाचित भए । युवा पुस्ताको समर्थन प्राप्त गरे । परम्परागत दलहरूको विकल्पका रूपमा स्थानीय समस्याउपर केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए । तर छोटो समयमै उनीहरूप्रति जनताको विश्वास विस्तार डग्मगाउँदै गइसकेको छ । नेता बने पनि नेतृत्व दिन असफल भए । बालेन्द्र र हर्क छुद्र बोली, छुद्र लेखाइ र कार्यपालिका सदस्यहरूलाई सहमतिमा ल्याउनबाट बारम्बार चुुुके, आफूले थालेका योजनाहरू पूरा गर्न सकेनन् । र, त ओरालो यात्रामा लागे ।
रवि लामिछानेको नेतृत्वमा २०७९ मा स्थापित रास्वपाले छोटो समयमै २१ सिटसहित संसदमा प्रवेश ग¥यो । टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मार्फत कमाएको लोकप्रियताले उनलाई वैकल्पिक शक्तिको नेतृत्वमा स्थापित गरायो । टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका रेशम चौधरीको रिहाइको मुद्दालाई आधार बनाएर स्थापित नागरिक उन्मुक्ति पार्टी उनकी पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा सत्तासँग जोडिँदै आएको छ ।
सिके राउतको नेतृत्वमा मधेशकेन्द्रित वैकल्पिक शक्तिका रूपमा उदाएको जनमत पार्टीले २०७९ को निर्वाचनमा एक प्रत्यक्ष र पाँच समानुपातिक सिट जितेर संसद प्रवेश गर्यो । रवीन्द्र मिश्रले २०७३ मा स्थापना गरेको साझा पार्टी र विवेकशील नेपाली दलले २०७४ को स्थानीय निर्वाचनमा काठमाडौंमा अप्रत्यासित समर्थन प्राप्त गरे । यी दुई पार्टी २०७४ मा एकीकरण भएर विवेकशील साझा बने, तर २०७५ मा फुटे र २०७७ मा पुनः एकीकरण भए ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी परित्याग गरी २०७३ मा स्थापना गरेको नयाँ शक्ति पार्टी पछि जनता समाजवादी पार्टी (जसपा) मा विलय भयो । हाल उनले नेसपा (नयाँ शक्ति) नाममा पार्टी पुनर्गठन गरेका छन्् ।
वैकल्पिक शक्तिको विश्वास किन डग्मगायो ?
सुरुवाती समर्थन र उत्साहका बाबजुद यी दल र व्यक्तिहरूले जनताको विश्वास कायम राख्न नसक्नुका पछाडि तीन प्रमुख कारण छन् : विचार निर्माणमा समस्या, पपुलिस्ट र नायकत्ववादी प्रवृत्ति र अवसरवादी चरित्र ।
१. विचार निर्माणमा समस्या
वैकल्पिक राजनीति गर्ने दलले स्पष्ट र मौलिक विचार प्रस्तुत गर्न नसक्दा जनतामा भ्रम र अविश्वास बढेको छ ।
अस्पष्ट वैचारिक आधारः धेरैजसो वैकल्पिक दलले नयाँ विचारको दाबी गरे पनि ती विचार मूर्त र स्पष्ट छैनन् । उदाहरणका लागि, रास्वपाले संघीयता र प्रदेश संरचनामाथि प्रश्न उठाए पनि त्यसको स्पष्ट विकल्प प्रस्तुत गर्न सकेको छैन । साझा पार्टीले सुरुमा समावेशी लोकतन्त्र र सुशासनको कुरा गरे पनि पछि रवीन्द्र मिश्रले हिन्दु राजसंस्था पुनःस्थापनाको परम्परागत मुद्दा अँगाले, जसले पार्टीको वैकल्पिक पहिचान गुमायो । मौलिक पहिचानको अभावः यी दलहरूले संसारमा प्रचलित वैचारिक कित्ता (जस्तै, समाजवाद, उदारवाद) मा आफूलाई स्पष्ट रूपमा उभ्याउन सकेनन् । नयाँ विचार स्थापित गर्न नसक्दा जनताले यी दलहरू परम्परागत दलभन्दा कसरी फरक छन् भन्ने बुझ्न सकेनन् ।
उदाहरण : जनमत पार्टीले मधेशकेन्द्रित मुद्दा उठाए पनि त्यसलाई राष्ट्रिय स्तरको वैकल्पिक विचारमा रूपान्तरण गर्न असफल रह्यो । नेसपाले पनि ‘कल्याणकारी लोकतन्त्र” को नारा दियो, तर ठोस नीति र कार्यक्रमको अभावमा प्रभावहीन बन्यो ।
२. पपुलिस्ट र नायकत्ववादी प्रवृत्ति
वैकल्पिक दलहरूले व्यक्तिकेन्द्रित र पपुलिस्ट एजेण्डालाई प्राथमिकता दिँदा संस्थागत चरित्र र सामूहिक नेतृत्व विकास हुन सकेन ।
नायकत्वको जोखिम : रास्वपामा रवि लामिछाने, नयाँ शक्तिमा बाबुराम भट्टराई र साझा पार्टीमा रवीन्द्र मिश्रलाई नायकका रूपमा प्रस्तुत गरियो । यी नेताहरूले आफ्नो व्यक्तिगत ख्याति (जस्तै, लामिछानेको टेलिभिजन लोकप्रियता) लाई पार्टीको आधार बनाए, तर संस्थागत संरचना निर्माणमा ध्यान दिएनन् ।
पपुलिस्ट एजेण्डा : रास्वपाले छोटो समयमा लोकप्रियता कमाउन तिखा आलोचना र सरल नारा प्रयोग ग¥यो, तर दीर्घकालीन नीति र रणनीति बनाउन असफल रह्यो । बालेन र हर्कले पनि तत्कालीन लोकप्रिय मुद्दा (जस्तै ः फोहर व्यवस्थापन, पानीको समस्या) लाई संबोधन गरे, तर दीर्घकालीन राजनीतिक दृष्टिकोण र परिपक्वताको अभावमा आलोचित भए ।
परिणाम : रवि लामिछानेमाथि सहकारी ठगीको आरोपले रास्वपाको नेतृत्व र विश्वसनीयता कमजोर बन्यो । साझा पार्टीमा मिश्रको परम्परागत मुद्दातर्फको झुकावले युवा समर्थकहरूलाई निराश बनायो ।
३. अवसरवादी चरित्र
वैकल्पिक दलहरूमा धैर्यताको अभाव र छिटो सत्ता प्राप्तिको लालसाले तिनको वैकल्पिक पहिचानलाई धमिलो बनाएको छ ।
सत्तासँग घाँटी जोडाइ : नागरिक उन्मुक्ति पार्टी सधैं सत्तासँग जोडिएर रेशम र रञ्जिता चौधरीको व्यक्तिगत झगडामा अल्झियो । जनमत पार्टीले सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएर पुराना नेताहरूलाई बेवास्ता गर्दा आन्तरिक असन्तुष्टि बढ्यो । रास्वपाले दुई–दुई पटक सत्तासाझेदारी गरेर आफ्नो वैकल्पिक छवि गुमायो । रवि लामिछानेलाई गृहमन्त्री नै नभइ भएन । नागरिकता, राहदानी प्रकरणमा मन्त्री मात्रै होइन, सांसद पद नै गुमाएका लामिछाने अहिले सहकारी ठगी प्रकरणमा थुनामा छन् । आइतबार मात्रै यही प्रकरणमा रविविरुद्ध अर्को मुद्दा दर्ता भएको छ ।
आन्तरिक फुट र अस्थिरता : साझा र विवेकशीलको २०७५ मा फुट, २०७७ मा पुनः एकीकरण र पछिल्लो समय मिश्रको राप्रपातर्फको यात्राले पार्टीको विश्वसनीयता कमजोर बनायो । चैत १५ को आन्दोलनका कारण हिरासतमा रहेका मिश्र धरौटीमा रिहा त भएका छन् तर मुद्दा र लफडा कायमै छ । नयाँ शक्तिको जसपासँगको विलय भयो । पछिल्लो समय नेसपा (नयाँ शक्ति) बनेर दशौं स्थापना दिवस मनाइरहेको पार्टी पारिवारिक संरचनाको टेकोमा चल्न बाध्य छ । यसले पनि वैकल्पिक राजनीतिको अपेक्षालाई कमजोर बनायो ।
सुदूरपश्चिम प्रदेशलाई आधार बनाएर उदाएको नागरिक उन्मुक्ति पार्टी पनि रेशम र रञ्जिताको पारिवारिक विवादले मक्किएको छ । नागरिक उन्मुक्तिले पनि आफूलाई सत्ताको खेलमा सीमित गरायो । बाबुराम भट्टराईको बारम्बारको गठबन्धन र दल परिवर्तनले उनको वैकल्पिक छविलाई धमिलो बनायो ।
नेपालको वैकल्पिक राजनीतिले पुराना दलहरूको भ्रष्टाचार, कुशासन र अक्षमताको आलोचना गरेर जनताको समर्थन प्राप्त गर्न सफल भए । तर, ती दलहरूले आफ्नै वैचारिक स्पष्टता, संस्थागत संरचना र दीर्घकालीन रणनीति निर्माण गर्न नसक्दा छोटो समयमै विश्वास गुमाए । बालेन र हर्कजस्ता व्यक्तिहरूले स्थानीय स्तरमा केही सकारात्मक काम गरे पनि राजनीतिक परिपक्वताको अभावले आगामी निर्वाचनमा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
टिप्पणीहरू