एकीकृत समाजवादीभित्र दूरी र छटपटी सँगसँगै
नेकपा (एकीकृत समाजवादी) भित्र पछिल्लो समय असमझदारी, अविश्वास र असन्तुष्टि गहिरिँदै गएको विश्लेण गर्न थालिएको छ । शीर्ष नेताहरूबीच हुने गरेको संवादको श्रृंखला घटेको र नेतृत्वप्रतिको असन्तुष्टि यदाकद सतहमा पोखिन थालेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको सम्बन्धलाई लिएर अनेक चर्चा भएको छ । हालैको एक टेलिभिजन अन्तर्वार्तामा खनालले एमाले छाडेर पार्टी विभाजन गर्नु ‘गल्ती’ भएको उल्लेख गर्दै त्यसको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि विभिन्न अर्थ लगाइएको हो ।
‘त्यो विद्रोह वैज्ञानिक समाजवादको दिशामा होस् भन्ने चाहना थियो,’ खनालले भन्नुभएको छ, ‘तर अहिले त्यही जनताको बहुदलीय जनवाद छाड्न सकिँदैन भन्ने आवाज अध्यक्षबाट आउँछ ।’
खनालले आफूलाई पार्टीका बैठकहरूमा नबोलाइएको, कुनै छलफलमा समावेश नगरिएको गुनासो गर्दै नेतृत्वले आफूलाई ‘बाइपास’ गर्न खोजेको आरोप लगाउनाले पनि आगोमा घिउ थप्ने काम भएको हो । हालै पार्टी प्रवेश गरेका वामदेव गौतमले समेत अध्यक्ष नेपालप्रति असन्तुष्टि पोख्न थालेपछि चर्चाको क्रम बढेको हो ।
संगठन विभागको नेतृत्व माग्दा आफूले पाएको जवाफ चित्त नबुझेको भन्दै उहाँले सार्वजनिक रूपमै ‘के गरौँ, के नगरौँ’ भन्ने अवस्था आएको उल्लेख गर्नुभयो । दाहाल नेतृत्वको माओवादी केन्द्रसँगको एकता प्रस्तावमा नेपालले तत्काल सहकार्य मात्र स्वीकार गर्दा शीर्ष तहमा द्विविधा थपिएको उहाँको भनाई छ ।
एकातिर नेतृत्वसँगको दूरी बढ्दो र अर्कातिर वरिष्ठ नेताहरूको छटपटी पनि खुलेर सतहमा आएको सन्दर्भले उक्त पार्टीभित्रको अस्थिरताबारे धेरैजना जानकार भएका हुन् ।
टिप्पणीहरू