माधवले ‘झपारे’ पछि झलनाथलाई शंकरको सहानुभूति

माधवले ‘झपारे’ पछि झलनाथलाई शंकरको सहानुभूति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाल संस्थागत निर्णय उल्लंघन गर्नमा ‘एक नम्बर’ रहेको टिप्पणी गर्नुभएको छ । 

खनालले हिजो एक टेलिभिजन अन्तर्वार्तामा एमाले पार्टी फुटाएकोमा आत्मालोचना गर्नुभएको थियो । आज विराटनगर पुगेका माधवले उतैबाट जवाफ फर्काउँदै मन नलागे पार्टीमा नबस्न सल्लाह दिनुभएको हो ।

‘उहाँ पार्टीको संस्थागत निर्णय उल्लंघन गर्न नम्बर वान हुनुहुन्छ’, उहाँले भनुभयो, ‘त्यसकारण उहाँको कुराको कुनै अर्थ राख्दैन ।’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले खनाललाई सम्मानपूर्वक बिदा भएर जानसक्ने विकल्पसमेत सुझाउनुभएको छ । पार्टीमा बसेर विरोध गर्न नपाइने उहाँले स्पष्ट पार्नुभयो । 

खनालको अभिव्यक्तिप्रति अनविज्ञता प्रकट गर्दै भन्नुभयो, ‘त्यो कुरा उहाँले बोलेको हो कि होइन ! यदी उहाँले त्यो बोल्नुभएको हो भने पार्टीबाट बिदा भए हुन्छ, यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि ! नैतिक अधिकार नै भएन नि ! उहाँले खुरुक्क राजीनामा दिएर बिदा हुनुपर्छ ।’

उता एमाले महासचिव शंकर पोखरेलले नेकपा (एस)को आन्तरिक द्वन्दप्रति खुचिङको शैलीमा सहानुभूति व्यक्त गर्नुभएको छ । 

एसको जिल्ला स्तरीय कार्यकर्तालाई एमालेमा मिसाउँदै गर्दा भन्नुभयो, ‘एकथरी नेताहरुले सार्वजनिक रुपमै पार्टी विभाजन गलत थियो भन्न थाल्नुभएको छ, अर्कोथरी नेताहरु अलग पार्टी चलाउन सकिदैन, माओवादीसँग एकता गर्नुपर्छ भनेर लागिराख्नुभएको छ, उहाँहरुले जुन उद्धेश्यले पार्टी फुटाउनुभएको थियो, त्यो पूर्णरुपमा असफल भएको छ, यस्ताे बेला सहानुभूति व्यक्त गर्नबाहेक अरू केही सकिदैन ।’

टिप्पणीहरू