बूढानीलकण्ठ पुगेपछि मुख्यमन्त्री राजीनामा दिन तयार
बागमती प्रदेशको सत्तासमीकरणमा देखिएको गतिरोध अन्त्य गर्दै काठमाडौैंको बूढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा नयाँ सहमति भएको छ । जसअनुसार मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने र उनले हालै नियुक्त गरेका तीन मन्त्रीले शपथ ग्रहण गर्ने छन् ।
देउवाको उपस्थितिमा मुख्यमन्त्री लामा र काँग्रेस बागमती संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँबीच भएको सहमतिमा भोलि प्रदेश प्रमुख हेटौंडा फर्किएपछि मन्त्रीहरूको सपथ गराइने र त्यसपछि मुख्यमन्त्री लामाले राजीनामा बुझाउने उल्लेख छ ।
आजको सहमतिपछि बानियाँको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । उनले ८ महिनापछि प्रदेशको सत्ता एमालेलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त गरेका तीनजना मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई भोलि शपथ गराउने कार्यक्रम छ । यसअघि काँग्रेसको आन्तरिक कारण र प्रदेश प्रमुखको ‘अचानक स्वास्थ्य खराब’ का कारण तीन मन्त्रीको शपथ दुईपटक रोकिएको थियो ।
टिप्पणीहरू