चिकित्सकले रोक्दारोक्दै मेयर भट्टराई माइतीघरमा

चिकित्सकले रोक्दारोक्दै मेयर भट्टराई माइतीघरमा

सात बुँदे माग राख्दै आमरण अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई माइतीघर मण्डला फर्किएका छन् । अस्पतालबाट ‘डिस्चार्ज’ नपाउँदै उनले माइतीघर पुगेर अनशनलाई निरन्तरता दिएका हुन् । सरकारसँग पटकपटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि उनले पुनः अनशन थालेको नम्बर–१० का वडाध्यक्ष मुगाधन राईले बताए । 

उनका अनुसार आज पनि वन मन्त्रालयका अधिकारीहरुसँग वार्ता तय भएको छ । ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग वार्ता भयो । वन मन्त्रालयको टोलीसँग पनि कुराकानी गर्यौं । तर, कतैबाट सहमति जुट्न सकेन । आज वन मन्त्रालयका अधिकारीहरुसँग वार्ता छ । सहमति होला भन्ने लागेको छ’,उनले भने । गत साउन ११ गतेदेखि सत्याग्रह थालेका मेयर भट्टराईले साउन १४ गतेदेखि अनिश्चितकालीन आमरण अनशन शुरु गरेका छन् । 

माइतीघरमा अनशन बसेका उनलाई प्रहरीले जबरजस्ती उठाएर वीर अस्पताल लगेको थियो । साउन १५ गते अस्पतालबाट निस्किने तयारी गरेका मेयर भट्टराईको स्वास्थ्य अवस्था ठीक नभएकाले चिकित्सकले ‘डिस्चार्ज’ दिन मानेका थिएनन् । अस्पतालमा उपचाररत उनी आफूखुशी माइतीघर पुगेका हुन् । 

मेयर भट्टराईले जलवायु परिवर्तनका कारण पहाडहरू काला पहाडमा रुपान्तरण हुँदै गएकाले हिमालको संरक्षणका लागि नीति बनाउन, स्थानीयस्तरमा बाँसबाट उत्पादित सामानको प्रयोग गर्ने व्यवस्था मिलाउन, बाँदरको आतंक रोक्न, निर्माण अलपत्र पार्ने ठेकेदारहरुलाई कारबाही गर्न, एउटा ठेक्का पूर्ण रुपमा नसकाईकन अर्को ठेक्का नदिन, प्लाष्टिक–बियरका बोतल, जंकफुडका प्याकेट उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्नेगरी कानुन बनाउन संघीय सरकारसँग माग गरेका छन् ।

उनलाई साथ दिन ३ नम्बरका वडाध्यक्ष महेन्द्रबहादुर राई, ५ नम्बरका वडाध्यक्ष दिनेशकुमार घिमिरे, १० नम्बरका वडाध्यक्ष मुगाधन राई, १४ का वडाध्यक्ष दिनेशकुमार राई र १२ का वडाध्यक्ष दानबहादुर राई काठमाडौं आएका छन् ।

टिप्पणीहरू