चर्किंदै माधव र झलनाथको झगडा
नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेताबीच चलिरहेको द्वन्द्वले तत्काल पूर्णविराम नपाउने देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको टकराव झन उत्कर्षमा पुग्दै गरेको देखिन्छ ।
नेता खनालले अघिल्लो साता एमाले विभाजनप्रति सार्वजनिकरुपमै आत्मालोचना गरेपछि माधव आक्रोशित भए । त्यसपछि दुई नेताबीच आरोप-प्रत्यारोप चलिरहेको छ ।
खनालले टेलिभिजन अन्तर्वार्तामा ‘नेकपा एमालेबाट विद्रोह गर्नु गल्ती भएको’ बताएका थिए । भोलिपल्ट जवाफ फर्काउँदै अध्यक्ष नेपालले पार्टीमा बस्न मन नलागे बाटो लाग्न सक्ने टिप्पणी गरे । नेता खनालले पुनः एक टेलिभिजन कार्यक्रमबाट ‘पार्टी छोडेर जानुस् भन्ने तपाई कुन तानाशह हो ?’भनेर प्रश्न तेर्स्याएका छन् ।
नेतृत्व परिवर्तन नभए नेकपा (एस)को भविष्य नरहेको समेत उनको ठोकुवा छ । एमालेबाट गरेको विद्रोहको औचित्य सावित गर्न सकिने भन्ने अर्थमा आफूले विभाजन गलत रहेछ भन्ने तर्क गरेको प्रष्टीकरण पनि खनालले दिएका छन् ।
‘मैले एमालेबाट जुन विद्रोह गरियो, त्यसको औचित्य पुष्टी हुन सकेन भनेको हो, यो नै सत्य हो’, उनले भने, ‘यसको नेतृत्व (नेपाल) र पार्टी स्वयं राजनीतिक, सैद्धान्तिक र संगठनात्मक हिसाबले पुर्नगठन हुनुपर्छ, अहिलेको मुख्य आवश्यकता यही नै हो, हैन भने यो पर्टीको भविष्य छैन, पार्टीहरु जन्मन र मर्ने प्रक्रियाको एउटा उदाहरण मात्रै हुनेछ ।’
नेपालको कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशामा अघि बढाउन प्रथमतः पार्टीहरु सुसंगठित हुनुपर्ने खनालको धारणा छ । ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन पार्टीहरु सुसंठित हुन आवश्यक छ, यो पार्टीले पनि क्रान्तिकारी कार्यदिशाको आधारमा पुर्नगठित हुन सकेन, जग बलियो बनाउन सकेन भने कुनै अर्थ रहदैन’, उनले भनेका छन् ।
नेता खनालले नेतृत्वकै कारण पार्टी कमजोर बन्दै गएको आरोप पनि लगाए । ‘अहिले नेतृत्वको जुन अवस्था छ, उहाँमा जे समस्याहरु छन्, ती कुराहरुमा सुधार र परिवर्तन हुन सकेन भने पार्टीले कम्युनिष्ट एकता त परको कुरा, आफ्नै अस्तित्व पनि गुमाउनेछ’, झलनाथको भनाइ रह्यो ।
टिप्पणीहरू