प्रधानमन्त्री मध्यराति विदेश जाँदै, सभामुख फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जान लाग्नुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यता जान लाग्नुभएको हो । प्रमको टोली फ्लाई दुबईको उडानबाट मध्यराति ११ः५५ बजे दुबई हुँदै आस्गावातका लागि उड्ने छ ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सांसद सूर्यबहादुर थापा क्षेत्री, नीजि चिकित्सक डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत रहने छन् ।
यता, सभामुख देवराज घिमिरे जेनेभाबाट फर्किनुभएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू)को छैठौँ सम्मेलनमा भाग लिन साउन ११ गते स्विजरल्याण्ड जानुभएका उहाँ आज बिहान काठमाडौँ ओर्लिनुभएको हो ।
सभामुख घिमिरेको भ्रमण टोलीमा प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र परिवार दलका अध्यक्ष तथा एमाले सांसद एकनाथ ढकाल सामेल थिए ।
टिप्पणीहरू