बालुवाटारमा माधव नेपालले दिएको दुई सय रुपैयाँको चर्चा

बालुवाटारमा माधव नेपालले दिएको दुई सय रुपैयाँको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट चुनाव लड्दाको प्रसँग स्मरण गर्दै पार्टीले दुई सय रुपैयाँ दिएको र त्यसबाट २० रुपैयाँ बचाएको घटना सुनाउनुभएको छ । 

सरकारी निवास बालुवाटारमा निर्वाचनसम्बन्धी पुस्तक विमोचन गर्दै प्रमले चुनावको पारदर्शितामा आफू अब्बल रहेको पुष्टि गर्न पुरानो सन्दर्भ उप्काउनुभएको हो । ०४८ सालमा पहिलोपल्ट चुनाव लड्दा बस भाडामा १८० रुपैयाँ खर्च भएको ओलीको भनाइ छ ।

‘त्यतिबेला पार्टीको महासचिव माधवकुमार नेपाल हुनुहुनथ्यो, उहाँले बाटो खर्च भनेर दुई सय दिनुभएको थियो’, प्रम भन्नुहुन्छ, ‘१८० बस भाडामा सकियो, बीचमा एउटा साथी भेटियो, खानाको पैसा उसैले तिर्छु भनेपछि २० रुपैयाँ पनि बच्यो ।’

बचेको २० रुपैयाँ चुनावपछि चियाँ खाएर सकिएको पनि ओलीले सुनाउनुभयो । भन्नुभयो, ‘चुनावपछि पाँच सात जना साथीहरु भेट भएका थिए, तपाईले एक कप चिया पनि नखुवाएर चुनाव जितेर हिँड्ने भनेर ज्यादती नै गरे, त्यसपछि खल्तीको त्यही २० रुपैयाँले चिया खाएका थियौँ ।’

आजसम्म भएका निर्वाचनमा आफूले कुनै जालझेल नगरी जितेको पनि उहाँको दावी छ । दुई चुनावमा झन् सर्वाधिक मत ल्याएर जितेको उहाँले बताउनुभयो । 

‘कुनै प्रकारको अनफेयर चिज नगरी, कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ, धन र बल प्रयोगबिना जितेको हुँ’, ओलीले थप्नुभयाे, ‘कसैले असत्य प्रमाणित गर्न सक्छ ? अहिलेसम्मको कुनै निर्वाचनमा मैले कतै बुथ कब्जा गरेँ भनेर, कतै नियम उल्लङ्घन गरेर काम गरेँ भनेर कसैले पनि मलाई औँला ठड्याउन सक्छ ? रिस उठेर गालीगलौज गर्नु बेग्लै कुरा !’

टिप्पणीहरू