दुइटै इजलासबाट धरौटीमा छुटे दुर्गा प्रसाईं
फाइल फाेटाे
आफूलाई राजावादी अभियन्ताका रूपमा चिनाउँदै आएका विवादास्पद मेडिकल व्यावसायी दुर्गाप्रसाद प्रसाईंलाई राहत हुनेगरी अदालतले एकै दिन दुई वटा मुद्दामा आदेश सुनाएको छ ।
चैत १५ गते तीनकुनेमा भएको ध्वँसात्मक राजावादी आन्दोलनका नेतृत्वकर्ता उनलाई त्यससँग सम्बन्धित एउटा र बैंकिङ कसुरको अर्को मुद्दामा उच्च अदालत पाटनले धरौटीमा छोड्ने आदेश गरेको हो । तीनकुने काण्डमा पक्राउ परेका प्रसाई त्यसयता डिल्लीबजार कारागारमा पुर्पक्षको सजाय काटिरहेका थिए ।
यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसविरुद्ध उनले उच्च अदालत गुहारेका थिए । आज न्यायाधीशद्वय टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको ६ नम्बर इजलासले तल्लो अदालतको आदेश बदर गर्दै प्रसाईंको मागबमोजिम ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।
प्रसाईसहित थुनामा रहेका राजावादीहरू सुशील बराल र सरोज गौतमलाई पनि जनही ५० हजार रुपैयाँ धरौटीमा छोड्न अदालतको आदेश छ ।
आजै बैकिङ कसूरको अर्को मुद्दामा पनि उच्च अदालतबाट प्रसाईंले राहत पाएका छन् । १८ करोड ४४ लाख बिगो मागदावी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले जम्मा २५ लाख धरौटी मागेको छ । यस मुद्दामा उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै छोड्ने निर्णयमा पुगेको आदेशमा उल्लेख छ ।
‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेश गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी २५ लाख नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला’, आदेशमा भनिएको छ ।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो । अभियोगपत्रमा ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको दाबीसहित जरिवाना र कैद सजाय मागिएको थियो ।
टिप्पणीहरू