किन रोकियो श्रीमानहरुको सरुवा ?

किन रोकियो श्रीमानहरुको सरुवा ?

विभिन्न अदालतका न्यायाधीशहरुको ठूलै लट सरुवाको तयारी गरिए पनि हिजो बसेको न्याय परिषद् बैठक एकाएक निर्णयबाट एकदिन पछि हटेको छ । विशेष अदालतमा विचाराधीन सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा परेकाले आज साँझ बस्ने बैठकले निर्णय गर्नेगरी हिजो बैठक स्थगित गरिएको बताइन्छ । 

थापालगायत चार जनाविरुद्धको मुद्दा अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाई भएको मुद्दा हेर्दाहेर्दैमा परेपछि उता सरुवा पनि रोकिएको स्रोतको दावी छ । 

आफ्नै नाममा ताल बनाएका मेयरको मुद्दामा आज आदेश आएपछि उता  न्यायाधीशहरुको सरुवा गर्ने प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको सुर रहेको कानुन व्यवसायीहरुको बुझाइ छ । परिषद् निकट स्रोतले भन्यो, ‘ आदेश भएपछि सरुवाको निर्णय पनि हुन्छ होला ।’

कानुनमन्त्री अजयकुमार चौरसियाको आग्रहमा प्रधानन्यायाधीश नेतृत्वको परिषद् बैठकले एकाएक सरुवा रोकेको बताइन्छ । मन्त्रीको शंकास्पद भूमिका इँटाभट्टामा जिउँदै मान्छे पोलेको अभियोगमा जेल पुगेका मोहम्मद आफ्ताब आलमको मुद्दामै स्पष्ट भइसकेको थियो । परिषद्को सरुवा सूचीमा विशेषका पाँचै जना न्यायाधीश रहेको बुझिएको छ । सम्भवतः केही न्यायाधीशको सरुवा उच्च अदालत जनकपुर र अन्तका इजलासमा हुने बताइन्छ ।

विशेषमा अध्यक्ष न्यायाधीश कुँवरसहित श्रेष्ठ र कोइराला एवम् तेजनारायण सिंह राई,रामबहादुर थापा र रितेन्द्र थापासहितको छ जनाको टोली छ ।
 
यता उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी भइरहँदा नेपाल बार एशोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन खारेज गर्न चेतावनीसहित हिजो ध्यानाकर्षण गराएको छ । वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र नेतृत्वको बारले प्रधानन्यायाधीशको अध्यक्षतामा रहेको न्याय परिषद्लाई उक्त चेतावनीसहित हिजो अपरान्ह ध्यानाकर्षण गराएको हो ।

टिप्पणीहरू