कुलिङ पिरियड छानबिन समितिको ११६ पेज लामो प्रतिवेदन सार्वजनिक

कुलिङ पिरियड छानबिन समितिको ११६ पेज लामो प्रतिवेदन सार्वजनिक

संघीय निजामती सेवा विधेययकको ‘कुलिङ अफ पिरियड’ गडबडी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिका संयोजक जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका छन् । 

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपश्चात प्रतिवेदन तयार गरेको हो । ११६ पृष्ठको प्रतिवेदनमा कुलिङ पिरियडमाथि भएको छेडखानीका लागि कसैलाई पनि तोकेर जिम्मेवार ठहर्याइएको छैन ।   

प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई नैतिकरुपमा मात्रै जिम्मेवार ठहर गरिएको छ । मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र कानुन मन्त्रालयका सचिवले पदीय आचरण अनुसार काम नगरेको ठहर्याईएको छ । 

विधेयकमा त्रुटी रहेको खुलेसँगै गत असार २३ गते अध्यायन तथा छानविनका लागि समिति गठन भएको थियो । कांग्रेस सांसद परियार नेतृत्वको सात सदस्यीय समितिमा सोही पार्टीका सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य थिए ।

टिप्पणीहरू