रामहरिले राजीनामा नदिने

रामहरिले राजीनामा नदिने

संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी प्रावधानलाई निस्तेज पार्नेगरी भएको चलखेलमा नैतिक जिम्मेवार ठहर्याईएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा नदिने अडान लिएका छन् । 

विधेयकमाथिको छेडखानी छानबिन गर्न गठित संसदीय विशेष समितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा खतिवडासहित समितिका सचिव सुरजकुमार दुरालाई नैतिकरुपमा जिम्मेवार ठहर गरिएको छ । तर, प्रतिवेदनमा आफूलाई दोषी किटान नगरेको दाबी गर्दै उनले पद नछोड्ने प्रष्ट पारेका हुन् ।

छानविन समितिले प्रतिवेदन सदनमा बुझाएपछि संसद भवन बाहिर उभिएर उनले भने, 'मेरो दोष छ भने म राजीनामा दिन तयार छु भनेर शुरुदेखि भन्दै आएको छु । कुलिङ पिरियड मेरो मुद्दा हो । यो रहनुपर्छ भन्नेमा म हिजो पनि थिएँ, आज पनि छु । राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु ।'

आफूले हस्ताक्षर गरेको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड रहेको बताउँदै खतिवडाले आफ्नै अनुरोधमा छानविन समिति गठन गरेर यसबारे अध्ययन गरिएको जिकिरसमेत गरे ।

टिप्पणीहरू