अघिल्लो पुस्ताको वृक्षरोपणमा पछिल्लो पुस्ताको विश्राम
दिगो विकासका कथाहरू प्रायः आँधीबेहरी, सङ्घर्ष र त्यागबाट शुरु हुन्छन् । चीनको हेनान प्रान्तस्थित लांकाओ जिल्लाको कथा पनि त्यस्तै छ । जहाँ एक पुस्ताले बलौटे धुलोको आँधीसँगै खानेपानीको अभावरुपी त्रासदीमा रूख रोप्न थाल्यो । अर्को पुस्ता अहिले ती रुखको छहारीमा विश्राम गरेर संगीत बजाउँदै आनन्दमय जीवन बिताउन थालेको छ ।
सन् १९६२ मा लांकाओका तत्कालीन चिनियाँ कम्युनिष्ट पार्टी सचिव जियाओ युलुले वृक्षारोपण अभियानको नेतृत्व गरेका थिए । त्यो उनको एउटा राजनीतिक कार्यक्रम मात्र थिएन, समग्र जीवनप्रतिको प्रतिज्ञा थियो । स्थानीयको सामुन्ने प्राकृतिक विपत्तिका रूपमा देखा परेका तीन प्रमुख समस्याहरु बलौटे आँधी र जल अभावलाई मानिसकै हातले रूपान्तरण गर्ने त्यो प्रयत्नले आज त्यहाँ हरियालीको महोत्सव छाएको छ ।
पउलोनिया प्रजातिका ती रूख जसलाई बालुवामा रोपिएको थियो । अहिले ती रुखका काठले चीनको गुझेङ र गुछिनजस्ता परम्परागत वाद्ययन्त्रहरू निर्माण गरिन्छ । एउटै रूखले एकैचोटि प्रकृति जोगाएको छ, एउटा विशाल उद्योग जन्माएको छ र संस्कृतिको जगेर्ना गरेको छ । एक हजार पाँच सय किलोमीटर लामो पर्यावरणीय कोरिडर बनेको सो क्षेत्रमा जंगलले २ लाख मु अर्थात् २ लाख ६० हजार रोपनी मु भूभाग समेटेको छ ।
हिजोको विपत्तिग्रस्त लांकाओ आज चीनभित्र मात्रै होइन, अन्तर्राष्ट्रियरुपमा पनि समृद्धिको नमूना बनेको छ । जहाँ विगतमा बालुवा उड्थ्यो, अहिले त्यही ठाउँमा सौर्य प्यानल टल्केका छन् । जहाँ पानी जम्थ्यो, अहिले प्रविधिमैत्री कृषि फस्टाएको छ । जी ५ प्रविधिमा आधारित स्मार्ट फार्महरू, नवीकरणीय ऊर्जा उत्पादन केन्द्रहरू, र नयाँ कृषि उत्पादनहरू अहिलेको पुस्ताका लागि छायाँ, अवसर र समृद्धिको प्रतीक बनेका छन् ।
लांकाओको कथा चीनको मात्र होइन, विकासप्रेमी हरेक राष्ट्रको साझा पाठशाला हो । नेपालजस्ता प्राकृतिक विविधताले भरिएको देशमा, लांकाओले देखाएको जस्तै दूरदर्शिता, नेतृत्व र दीर्घकालीन सोच आवश्यक छ । विकास केवल भौतिक संरचना बनाउनु होइन—त्यो पुस्ता र पुस्ताबीचको उत्तरदायित्व बाँड्ने प्रक्रिया पनि हो ।
जसरी पउलोनिया रूखहरू लांकाओमा केवल काठ होइन, सांस्कृतिक र आर्थिक जीवनमा रुपान्तरण भएका छन्, त्यस्तै नेपालका रूखहरू पनि केवल वनको अंग मात्रै होइन, हामीले बनाउने भावी समृद्धिको सुनिश ।
तसर्थ एक पुस्ताले रोपेको रूखको छायाँमा अर्को पुस्ताले विश्राम गर्छ भन्ने चिनियाँ भनाइ लांकाओबाट नेपालसम्म प्रतिध्वनित भएको छ । सवाल केवल रूख रोप्ने होइन, त्यो रूखले जरा गाड्छ गाड्दैन भन्ने महत्वपूर्ण छ । त्यस्तै त्यो छायाँम बस्ने अवसर अर्को पुस्ताले पाउँछ कि पाउँदैन भन्ने पनि ज्वलन्त प्रश्न हो । लांकाओमा हिजोका ती साहसी हातहरू नभएको भए, आज शीतल छायाँ सम्भव थिएन ।
टिप्पणीहरू